• २२ असोज २०८१, मङ्गलबार

नारायणघाट–बुटवल सडक : यात्रुलाई सास्ती (फोटो फिचर)

blog

तस्बिरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, असोज २२ गते। समयमै बाटो विस्तार गर्न नसकेको ठेकेदार कम्पनीले बाटो मर्मतसमेत नगर्दा दसैँको बेलामा नारायणघाट–बुटवल सडकखण्ड भएर यात्रा गर्ने यात्रुले सास्ती खेप्नु परेको छ। 

ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिले चार्ड वार्डको बेला खाल्डाखुल्डी समेत नपुर्दा यात्रुले सास्ती खेप्नु परेको हो। भत्केको बाटो मर्मत गर्ने र खाल्डाखुल्डी पुरेर दसैँ तिहारमा यात्रा गर्नेका लागि सहज बनाइदिन जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनसमेत ठेकेदार कम्पनीले अटेर गरेपछि यात्रा कष्टकर बनिरहेको छ।

सडक विस्तारको क्रममा खनिएका खाडल, पहाड काटेर फराकिलो बनाउँदा झरेको पहिरो र समयमा मर्मत नगर्दा यात्रा कष्टकर बनेको छ। श्रीमतीसहित काठमाडौँबाट मोटरसाइकलमा सुनवल जाँदै गर्दा चोरमाराको ओरालोमा भेटिनुभएका राजेन्द्र खड्काले राज्य कमजोर हुँदा आज यो अवस्था आएको भन्दै आक्रोश पोख्नुभयो। धुलोले अनुहारसमेत चिनिन गाह्रो भएका उहाँले भन्नुभयो, ‘यत्रो वर्षसम्म एकतर्फी बाटो विस्तार गर्न नसक्ने ठेकेदारलाई पटक-पटक म्याद थपेर सरकारले झन् रजाइँ गर्ने छुट दिएको छ, यो भनेको राज्य कमजोर हुँदा ठेकेदारले नटेरेको हो।’

चर्को घाममा अगाडिको सवारी पनि देख्न नसक्ने गरी धुलो उड्ने गरेको छ भने सवारी साधनले दिउँसै बत्ती बाल्नु पर्ने बाध्यता छ। घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने भएकाले मोटरसाइकलको यात्रा झन् कठिन हुने गरेको छ। 


त्यसमध्ये पनि नवलपुरको दुम्किवासदेखि नवलपरासीको बर्दघाटसम्मको यात्रा थप कठिन र जोखिमपूर्ण रहेको बसका चालक रुपन्देही सैनामैनाका कमलप्रसाद भट्टले बताउनुभयो।  निकै जोखिम र कष्टकर बन्दा पनि सामान्य मर्मत र धुलो रोक्नका लागि सडकमा पानी समेत नहाल्दा यात्रा गर्न कठिन भएको भट्टले बताउनुभयो।

जिल्ला ट्राफिक कार्यालय प्रमुख जनकराज बन्जराले उकालो ओरालोमा लोडसहितका सवारी साधन पास गराउन निक्कै समस्या हुने गरेको बताउनुभयो। यस्तो बाटोमा गाडी फस्दा, बिग्रँदा घण्टौँसम्म जामको समस्या हुने गरेको उहाँको भनाइ छ।

अरू समयमा मर्मत नभए पनि चार्ड वार्डमा सडक मर्मत गर्ने अपेक्षा भए पनि चिनियाँ पक्षले वास्तै नगरेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो। पछिल्लो पटक आगामी साउन ८ गतेसम्मका लागि अन्तिम पटक भन्दै एक वर्ष थप म्याद पाएको चिनियाँ कम्पनीले थपिएको समयलाई दुरुपयोग मात्र गरिरहेको छ। म्याद थपिएको ४५ दिन बितिसक्दा पनि सडकमा ठेकेदार र कामदारको उपस्थिति देखिएको छैन। 

ठेकेदार कम्पनी मङ्सिरको अन्त्यसम्म पनि काममा नफर्कने अवस्था देखिएको भन्दै प्रजिअ पोख्रेलले सबैले दबाब दिनु पर्ने बताउनुहुन्छ। ‘यस्तै अवस्था रहने हो भने ठेकेदार कम्पनीले चार/पाँच महिनाभन्दा बढी काम गर्ला जस्तो देखिँदैन, त्यो अवधिमा बढीमा एकतर्फी बाटो मात्र विस्तार गर्‍यो भने पनि ठुलो कुरा हुन्छ, जति म्याद थपे पनि यो ठेकेदार कम्पनीबाट  बाटो विस्तारको कामले पूर्णता पाउला भन्ने देखिन्न।’