• २२ असोज २०८१, मङ्गलबार

गुल्मीमा चाडपर्व लक्षित बजार अनुगमन

blog

तम्घासमा बजार अनुगमन गर्दै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असोज २२ गते । गुल्मीमा चाडपर्व लक्षित पाँच सय ३८ पसलमा अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले जानकारी दिनुभयो। पछिल्लो समयमा ग्रामीण स्तरमासमेत पुगेर अनुगमन गरेकाले पहिलो चरणमा सचेत गराइएको उहाँको भनाइ छ । 

कतिपय पसल मापदण्ड विपरीत पनि चलेको पाइएकाले त्यी पसलहरूलाई सुधारको मौका दिइएको बताउनुभयो । सुधार नभएमा अव हुने अनुगमनमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने उहाँले चेतावनी दिनुभयो ।

पसलमा मूल्य सूची नै राख्दैनन्

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तारानाथ फुल्देलका अनुसार अनुगमनका क्रममा धेरै जसो पसलमा मूल्य सूची नराख्ने, दर्ता गरेका भए पनि नवीकरण नगर्ने र दर्ता भएका प्रमाणपत्रहरू देख्ने ठाउँमा नराख्ने गरेको पाइएको छ । आगामी दिनमा पसल सञ्चालकहरूलाई सचेत गराउनका लागि सचेतनाका कार्यक्रमहरू अगाडि बढाउनुपर्ने र निरन्तर अनुगमन गर्नु नै उत्तम हुने उहाँको तर्क छ । सचेत गराउँदा गराउँदै पनि अटेर गरेमा कानुन अनुसारको कारबाही गरेरै छाड्ने उहाँको दाबी छ । 

एक लाख बढीको म्याद गएका खाद्यवस्तु जफत

अनुगमनका क्रममा एक लाख बढीको म्याद गएका खाद्यवस्तु जफत गरिएको फुल्देलले बताउनुभयो । पसलमा म्याद गएका बिस्कुट, आटा, सूजी, कोकाकोलाजस्ता खाद्यवस्तुहरू जफत गरी नष्ट गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा निरन्तर रूपमा बजार अनुगमन गर्ने गरी योजना बनाएको उहाँको भनाइ छ ।