• १२ कात्तिक २०८१, सोमबार

नवलपुरमा बढ्दो डेंगु सङ्क्रमण

blog

बोमलाल गिरी

नवलपुर, असोज १५ गते । नवलपुरमा डेंगुको सङ्क्रमण दिनदिनै बढ्दो छ । हालसम्म जिल्लामा डेंगुबाट एकसय ५८ जना सङ्क्रमित भएका र एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । 

कार्यालयले दिएको तथ्याङ्कअनुसार ७४ जना महिला र ८४ जना पुरुषमा डेंगु सङ्क्रमण देखिएको हो ।सङ्क्रमितमध्ये सबैभन्दा धेरै गैंडाकोट नगरपालिकामा ४३ जना रहेका छन् ।

त्यस्तै, देवचुली नगरपालिकामा ३२, जिल्ला सदरमुकामसमेत रहेको कावासोती नगरपालिकामा २९ जना, मध्यबिन्दु नगरपालिकामा २०, विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा १६–१६ जना र  बुलिङटार गाउँपालिकामा २ जनामा सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो । 

नारायणघाट–बुटबल सडक खण्डले छोएका पालिकामा बढी डेंगु देखिएको छ । डेंगुको लक्षण देखिनेवित्तिकै सबैले परीक्षण नगराउने र कतिपयले चितवन र केही निजी मेडिकलमा परीक्षण गराउने गरेको र त्यो तथ्याङ्क स्वास्थ्य कार्यालयमा समावेश नहुने गरेको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ । त्यो तथ्याङ्कसमेत जोड्दा सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने कार्यालयले जनाएको छ ।

जिल्लामा डेंंगु सङ्क्रमण बढ्दै गएपछि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी छविलाल सुवेदीले विभिन्न पालिकामा जनप्रतिनिधि, टोलसुधार समिति, शिक्षक, अभिभावक, विद्यार्थी, आमा समूहलगायतलाई राखेर अभिमुखीकरण कार्यक्रम सुरु गरिएको र सङ्क्रमण बढ्दै गएका ठाउँमा लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले लामखुट्टेको वासस्थान नष्ट गर्न, पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र नियमित स्वास्थ्य परीक्षण गर्न सबैसित अनुरोध गरेको छ ।