• २ असोज २०८१, बुधबार

उपप्रमुख डंगोल न्युयोर्क प्रस्थान

blog

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २ गते । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन आज साँझ ६ वजे न्युयोर्क प्रस्थान गर्नुभएको छ । 

उपप्रमुख डंगोललाई महासभा बैठक अन्तर्गतको  ‘समिट अफ द फ्युचर २०२४’  का लागि काठमाडौँस्थित युएनको आवासीय प्रतिनिधिको कार्यालय र नेपाल सरकारले युवा नेतृत्व प्रतिनिधिका रुपमा मनोनयन गरेपछि उहाँ सो सभामा भाग लिन अमेरिका जानुभएको हो । 

महासभाको कार्यक्रम तालिका अनुसार यही असोज ६ र ७ गते  ‘समिट अफ द फ्युचर, २०२४’ कार्यक्रम हुनेछ । यसले दिगो विकास र सम्बन्धित वित्त पोषणलाई समेट्ने पाँच अध्यायलाई समावेश गरेको छ । ‘शान्ति र सुरक्षा, विज्ञान र प्रविधि, युवा र भाविपुस्ता अनि विश्वव्यापि शासनको रुपान्तरणलाई कार्यक्रमले समेट्ने छ’ डंगोलको सचिवालयले जनाएको छ ।

विश्वव्यापि रुपमा देखा परेको युद्धको जटिल अवस्था र यसले पारेको असर, कोरोनापछिको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकुलता, खाद्य संकटलगायत विषय महासभामा समेटिने छन् । यी विषयलाई केन्द्रमा राखेर सञ्चालन हुने विभिन्न चरणका कार्यक्रममा विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले भाग लिनुहुने छ । 

हालसालै संघीय संसदले पारित गरेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश दिन सक्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गर्नुभएका कारण पनि यो महासभा नेपालका लागि निकै महत्वपूर्ण हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।  ‘नेपालको शान्ति प्रक्रियालाई निर्णायक विन्दुमा पुगाउन यो विधेयकले महत्वपूर्ण भूमिका खेल्ने भएकाले सभामार्फत विश्वकै लागि नमूनाका रुपमा प्रस्तुत गर्ने अवसर हुनेछ’ विज्ञप्तिमा भनिएको छ । 

समिट अफ दफ्यचर, २०२४ का अतिरिक्त उपप्रमुख डंगोल संयुक्त राष्ट्र संघका साइड एजेन्सीले आयोजना गर्ने अन्य कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम छ । भदौ २७ गते औपचारिक उद्घाटन भएको महासभा असोज १४ गतेसम्म चल्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १० गते महासभामा सम्वोधन गर्ने कार्यक्रम छ ।