• १० मंसिर २०८१, सोमबार

ग्रामीण सडकको मर्मत सुरु

blog

त्रिवेणी नगरपालिकाले अवरुद्ध भएका ग्रामीण सडक पुनः सुचारु गरिँदै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की  

बाजुरा, भदौ २५ गते । बाजुराको त्रिवेणी नगरपालिकाले ग्रामीण सडक मर्मत सम्भारको काम सुरु गरेको छ । अविरल वर्षातका कारण बिग्रिएका ती सडकलाई दसैँ अगावै सञ्चालन हुने गरी पालिकाले ग्रामीण सडक मर्मत सम्भारको काम सुरु गरेको हो ।

त्रिवेणीका बाँगापाटा, कालापानी, झालगाउँ, तोली, छतारा लगायतको ठाउँमा बर्खाको समय भत्किएर अवरुद्ध बन्दै गएका सडक दसैँ अगावै पुनः सञ्चालनमा ल्याउने गरी यतिबेला मर्मत सम्भारको काम सुरु गरिएको त्रिवेणी नगरपालिका वडा नं – २ का अध्यक्ष वीरबहादुर बिकले बताउनभुयो ।

उहाँले भन्नुभयो, “केही समयअघि सडक अवरुद्ध हुँदा स्थानीयलाई आउजाउमा समस्या भएकोले यहाँका ती सबै सडक मर्मत सम्भारको काम भएको छ । ”

पहिरो गएको ठाउँमा सफाइ गर्ने र भत्किएको ठाउँमा पनि ग्याबिन राख्ने तयारी भइरहेको छ । असोजको दोस्रो हप्ता सम्म यहाँका गाउँ बस्तीमा पुगेका सबै सडक पुनः सञ्चालन ल्याउने गरी मर्मत सम्भारको काम तीव्र रुपमा भइरहेको बिकले बताउनुभयो ।

त्रिवेणी नगरपालिकाको किम्नी बाहेक सबै गाउँबस्ती सडक सञ्जालको पहुँचमा छन् । यहाँका केही सडक गत असार साउनमा आएको अविरल वर्षातका कारण बिग्रिएका थिए । यसरी सडक अवरुद्ध बनेपछि यहाँका स्थानीयलाई पनि दैनिक खाद्यान्न सामग्री घरसम्म लैजान  समस्या हुने गरेको थियो । 

पानी पर्दै गरेको कारण ती सडक मर्मतको काम गर्न सकिएको थिएन । यतिबेला पानी रोकिएकाले अहिले ती अवरुद्ध बनेका त्रिवेणीका सबै ग्रामीण सडक मर्मत सम्भारको काम सुरु गरिएको त्रिवेणी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका सबैभन्दा ठुलो समस्या बुढीगङ्गा नदी हो । यो नदीका कारण यहाँ बर्खाको समय गाडी वारपार हुँदैन । यतिबेला यस नदीमा पनि पुल निर्माणको काम भइरहेको छ । ”

बुढीगङ्गा र मालागाड खोलामा पुल निर्माणको काम चाँडै सम्पन्न हुने हाे भने त्रिवेणीका सबै वडामा हिउँद बर्खामा नियमित गाडी सुचारु गर्न सकिने त्रिवेणी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शााहले बताउनुभयो ।