• ११ मंसिर २०८१, मङ्गलबार

अझै मोबाइल नेटवर्कको समस्या

blog

यदुप्रसाद भट्ट

मनाङ, भदौ २५ गते ।  मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा झ्यालमा सानो टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुहुन्छ । उहाँसँग स्मार्ट फोन नभएको होइन । उहाँले भन्नुभयो, “फोन मात्र स्मार्ट भएर नहुने रहेछ, मोबाइलको टावर नै आउँदैन, कोही कसैले फोन गरिहाल्यो भने यो सानो टुकटुके मोबाइलमा सजिलै नेटवर्कले काम गर्छ । त्यसैले दुर्गममा यही फोन प्रयोग गर्ने गरेको छु ।” 

मनाङको उत्तरी क्षेत्रका गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या भएको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै भौँतारिनु परेको गुनासो गरेका छन् । नार्पाभूमि गाउँपालिकाका नार, मेता, च्याँखु, क्याङ र फु पाँच वटै वडाका स्थानीयलाई यस्तो समस्या भएको हो । 

वडा नं. १ का वडाध्यक्ष फुर्वाठेले लामाले गाउँपालिकाको केन्द्र च्याँखुमा सबैभन्दा बढी समस्या भएको बताउनुभयो । उहाँले नेपाल टेलिकमको नमस्ते मोबाइलको टु जी मात्र चल्ने भएकाले यसलाई स्तरोन्नति गरी फोर जी बनाए स्थानीयलाई सुविधा पुग्ने बताउनुभयो । क्याङमा पनि टेलिफोन सुविधा राम्रो नहुँदा सास्ती बेहोर्नु परेको उहाँको भनाइ थियो ।

यहाँ मोबाइल नेटवर्क मात्र होइन बिजुलीको पनि समस्या छ । सोलारमा समस्या नभए मोबाइल नेटवर्क पनि चल्ने र चार्ज नहुँदा समस्या हुने गरेको छ । यसको स्थायी समाधानका लागि बिजुली नै अन्तिम विकल्प रहेको वडाध्यक्ष लामाले जोड दिनुभयो । राम्रोसँग मोबाइल नचल्दा स्थानीय मात्रै होइनन् कर्मचारी पनि हैरान भएका छन् । नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले राम्रोसँग फोनले टावर नटिप्दा काम गर्न धेरै दुःख भएको बताउनुभयो । सूचना अधिकारी पाख्रिनले भन्नुभयो, “स्थानीय लघु जलविद्युत् भएका स्थानमा टावर चार्ज हुँदा काम गर्ने र टावरमा चार्ज नहुँदा काम नगर्ने यहाँको प्रमुख समस्या नै हो ।” 

उहाँले सम्पर्क गर्ने माध्यम टेलिफोन नै राम्रोसँग नचल्दा बिरामीलाई अझ बढी समस्या हुने गरेको बताउनुभयो । गण्डकी प्रदेशको सबैभन्दा विकट र अहिलेसम्म सडक सञ्जालले छुन नसकेको एउटै मात्र पालिका भनेको नार्पाभूमि हो । उहाँले भन्नुभयो, “प्रदेश तथा सङ्घीय सरकारको नजरमा नपरेर पनि होला नार्पाभूमिमा दुःखैदुःख छ । हत्तपत्त कर्मचारी आउनै मान्दैनन् । काम गर्न पनि धेरै समस्या छ ।” 

वडा नं. ४ का अध्यक्ष कर्मग्यान्जे लामाले टावरले राम्रोसँग काम नगर्दा आफन्तसँग कुराकानी गर्न डाँडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । वडा कार्यालयमा पटक्कै टावरले काम नगर्दा आफूले पनि कार्यालयको काम परेमा गाउँमा टावर टिप्ने ठाउँमा पुगेर फोन गर्नु परिरहेको उहाँले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “दिउँसोको समयमा हिँडेर त्यहाँ गए पनि रातिको समयमा आकस्मिक काम पर्दा आफन्तलाई फोन गर्न समस्या हुन्छ । वडामा मोबाइलको टावर छैन, वडा कार्यालयभित्र मोबाइल फोन नचलेपछि कसरी काम गर्ने ?” नेपाल टेलिकम मनाङ शाखा कार्यालयमा समस्या समाधान गर्नेबारे ध्यानाकर्षण गराइए पनि सुनुवाइ नभएको वडाध्यक्ष लामाले बताउनुभयो । यहाँका स्थानीयले फोन गर्नुपर्दा घरबाहिर निस्कनुपर्ने बाध्यता रहेको छ । कुनै आकस्मिक घटना, दुर्घटना भएमा वा कसैलाई केही खबर गर्नु परेमा निकै समस्या हुने गरेको छ ।