• ११ असोज २०८१, शुक्रबार

घोडाघोडी नगर अस्पतालमा स्वास्थ्य बिमा सेवा कार्यक्रम

blog

सोमबार स्वास्थ्य बिमा सेवा सम्झौता पत्रमा हस्ताक्षर पछिको सामूहिक तस्बिर । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), भदौ २४ गते । घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी नगर अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु हुने भएको छ । नेपाल सरकार, स्वास्थ्य बिमा बोर्ड र घोडाघोडी नगर अस्पताल बिच स्वास्थ्य बिमा सेवा कार्यक्रम सञ्चालनका लागि सेवा सम्झौता भएको छ ।

सोमबार घोडाघोडी नगरपालिका र स्वास्थ्य बिमा बोर्ड बिच सेवा सम्झौता भएको हो । सेवा सम्झौता पत्रमा स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावत , घोडाघोडी नगर अस्पतालका मेडिकल अधिकृत हेमनाथ आचार्य र स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनकबहादुर साउद ,जिल्ला संयोजक अनमोल रावलले हस्ताक्षर गर्नुभएको छ।

सेवा सम्झौता पत्रमा बिमा बोर्ड र नगर अस्पतालले पालना गर्नुपने सर्तहरू उल्लेख गरिएको छ । उल्लेखित सर्त अनुसार पहिलो पक्ष मानिएको स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रमबारे जानकारी गराउने, दोस्रो पक्षको रूपमा रहेको नगरअस्पताललाई तोकिएको दरमा बहिरङ्ग सेवा, आकस्मिक सेवा र अन्तरङ्ग सेवाको भुक्तानी गर्ने रहेको छ ।

त्यसैगरी दोस्रो पक्ष मानिएको घोडाघोडी नगरअस्पतालले बीमितको क्रियाशील अवधिभित्र उल्लेख भए बमोजिमको सेवा सुविधा गुणस्तरीय रूपमा प्रदान गर्ने, आफ्नै परिसरमा औषधी वितरण कक्षको व्यवस्थापन गर्ने, बीमितलाई तोकिएको सेवा तथा औषधीहरू निरन्तर उपलब्ध गराउने सेवा सम्झौतामा उल्लेख छ । 

पाँच वर्षका लागि गरिएको स्वास्थ्य बिमा सेवा कार्यक्रम २०८१ साल असोज १ गते देखि लागूहुने स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले बताउनुभयो ।

यसअघि स्वास्थ्य बिमा सेवाका लागि बर्दगोरिया र चौमाला जानुपर्ने बाध्यताका कारण कतिपय बीमितले पायक पर्ने नभएपछि सेवासमेत नलिएको बताएका छन् । सुरुमा स्वास्थ्य बिमा कार्यक्रमले उपचारका लागि धेरै अस्पतालमा सेवा दिएपनि बिचमा सेवा कटौती गर्दा मर्कामा परेका बीमितहरु आफ्नै घरदैलोमा सुविधा पुगेपछि भने खुसी भएका छन् । 

घोडाघोडी नगरपालिका १ जनकपुरका स्थानीय अम्बिका शर्माले स्वास्थ्य बिमा सेवा नजिकै रहेको अस्पतालबाट पाउने भएपछि स्वास्थ्य उपचारमा सजिलो हुने भन्दै खुसी व्यक्त गर्नुभयो ।

तीन हजार पाँच सय रुपियाँले पाँचजना सदस्यको एक वर्षका लागि बिमा हुने व्यवस्था छ । थप सदस्य भएमा प्रति सदस्य सातसय थपगर्नुपर्ने प्रावधान छ। एक वर्षमा पाँचजना रहेको बिमित सदस्यले वर्षभरी एक लाख बराबरको उपचार सेवा पाउने स्वास्थ्य शाखा प्रमुख रावतले जनाउनुभयो । नगर अस्पतालमा उपचार असम्भव हुने बिरामीलाई अन्य अस्पतालमा बिमा सेवाबाट नै उपचार हुनेगरी रेफर गर्नसकिने समेत रावतले जानकारी दिनुभयो ।