• ९ वैशाख २०८२, मङ्गलबार

अफगानिस्तानका महिलाप्रति क्रूर सत्ता

blog

अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको अफगानिस्तानको तालिबान सरकार महिलाप्रति थप क्रूर बनेको छ । महिलाका अधिकार खोस्दै अधिकारविहीन बनाएको तालिबानले सार्वजनिक स्थलमा बोल्न र अनुहार देखाउनसमेत प्रतिबन्ध लगाएको छ । सार्वजनिक स्थानमा सधैँ बाक्लो कपडाले शरीर र अनुहार छोप्न महिला तथा बालिकालाई निर्देशन दिइएको छ । तालिबान सरकारले ल्याएको यो नयाँ कानुनलाई सर्वोच्च नेता मुल्लाह हिबतुल्लाह अखुन्दजाले अनुमोदन गरेसँगै कार्यान्वयनमा आएको छ । यो कानुनलाई हलाल र हराम गरी दुई वर्गमा विभाजन गरिएको छ । 

संयुक्त राष्ट्रसङ्घ र धेरै मानव अधिकार सङ्गठनले तालिबान सरकारको यस निर्णयप्रति आपत्ति जनाएका छन् । राष्ट्रसङ्घले यसलाई अन्तर्राष्ट्रिय मानव अधिकार नियमविपरीत भनेको छ । तालिबानले भने यी कानुनको कारण दिँदै भनेको छ, “महिलाको आवाजले पनि पुरुषलाई विचलित पार्न सक्ने छ । यसबाट बच्न महिलाले सार्वजनिक स्थानमा बोल्नबाट जोगिनु पर्छ ।” 

तालिबानले महिलालाई घरमा ठुलो स्वरमा गीत गाउन र पढ्न पनि प्रतिबन्ध लगाएको छ । नयाँ कानुन उल्लङ्घन गर्ने महिला वा बालिकालाई कडा सजाय दिइने छ । महिलाबाहेक तालिबानले पुरुषमाथि पनि केही प्रतिबन्ध लगाएको छ । घरबाट बाहिर निस्कँदा पुरुषले पनि आफ्नो शरीर घुँडासम्म छोप्नु पर्ने छ । यसै वर्ष तालिबानले ६३ जनालाई समलिङ्गी सम्बन्धको आरोपमा कोर्रा र कुटपिटको सजाय दिएको छ । जसमा १४ जना महिला थिए । यी मानिसलाई समलैङ्गिकता, चोरी र अनैतिक सम्बन्धमा दोषी ठहर गरिएको थियो । तालिबानले समलैङ्गिकतालाई इस्लाम विरोधी मान्छ । उसले मानिसलाई इस्लामको मार्ग अनुसरण गर्न आग्रह गरेको छ । त्यसो नगरे कारबाही गर्ने धम्की पनि दिइएको छ ।

सर्वोच्च नेता अखुन्दजाले यसै वर्ष मार्चमा जारी महिलाविरुद्धको आदेश कुनै पनि महिलाले आफ्नो पतिबाहेक अरूसँग यौन सम्बन्ध राखेको दोषी पाइएमा ढुङ्गाले हानेर मारिने उल्लेख छ । अखन्दजादाले लोकतन्त्रलाई चुनौती दिँदै इस्लामिक कानुन सरियालाई कडाइका साथ लागु गर्न आदेश दिँदै भनेका छन्, “ढुङ्गाले हानेर मार्दा महिलाको अधिकार हनन हो भनी तिमी भन्छौँ तर छिट्टै यो सजाय व्यभिचारमा लागु हुने छ । दोषी महिलालाई सार्वजनिक रूपमा कोर्रा र ढुङ्गाले हिर्काइने छ  ।”

अफगानिस्तान कब्जा गरेपछि तालिबानले देशमा सरिया कानुन लागु गर्ने घोषणा गरेको थियो । यो कानुन कठोर र पुरातनवादी छ । सरिया इस्लाममा विश्वास गर्ने मानिसका लागि कानुनी प्रणाली जस्तै हो । केही अतिवादी इस्लामिक देशमा यसको प्रयोग गरिएको छ । पाकिस्तानलगायत अधिकांश इस्लामिक देशमा यसलाई पूर्ण रूपमा लागु गरिएको छैन । 

सरियाले परिवार, वित्त र व्यवसायसँग सम्बन्धित कानुन समावेश गर्छ । रक्सी पिउनु, लागुपदार्थको प्रयोग वा बेचबिखन सरिया कानुन अन्तर्गत प्रमुख अपराधमध्ये एक हो । यही कारणले गर्दा यस्ता अपराधका लागि कडा सजायको व्यवस्था छ । २० वर्षसम्म लडेको अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएसँगै २०२१ को अगस्ट १५ मा अफगानिस्तान पुनः कब्जा गरेको तालिबानले महिला र सञ्चारमाध्यमको अधिकारलाई सरिया कानुनको दायराभित्र राख्ने बताएको थियो । सीमावर्ती पाकिस्तानमा महिलाले पढ्न पाउनुपर्ने अभियानमा सक्रिय भएकै बेला १५ वर्षको उमेरमा तालिबानको गोलीबाट घाइते बनेकी नोबल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइले तालिबानले गर्ने सरिया कानुनको व्याख्या देशमा महिला र किशोरीको सुरक्षाका लागि घातक हुने चेतावनी दिएकी थिइन् । 

“मैले अफगानिस्तानका महिला अधिकारकर्मीसहित केही अभियन्तासँग कुरा गर्ने अवसर मिलेको थियो । उनीहरूले आफ्नो आगामी जीवन के हुने हो भन्दै चिन्ता गरेका थिए,” उनले भनिन् । तीमध्ये धेरैले सन् १९९६ देखि २००१ बिचको तालिबान शासनको अवधिमा के भयो भन्ने सम्झिएका छन् । उनीहरू आफ्नो सुरक्षा, अधिकार, संरक्षण पाउने कुरा र विद्यालय जान पाउने कुरामा धेरै चिन्तित छन् । 

व्यभिचारी र हत्यारालाई सार्वजनिक स्थलमै फाँसी दिने तालिबान सरिया कानुनको उग्र व्याख्या गर्ने समूहका रूपमा परिचित छ । सरिया एउटा इस्लामिक कानुनी प्रणाली हो । इस्लामिक धर्मग्रन्थ कुरानसहित सुन्नाह र हदितबाट प्रवर्तित यो कानुन इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदको व्यवहार र वचनहरूमा आधारित भएको दाबी गरिएको छ ।

कुनै प्रश्नको उल्लिखित व्याख्याहरूबाट समाधान नभेटिए धार्मिक विद्वान्ले त्यस्ता प्रश्नबारे फतवा भनिने आदेश वा निर्देशन दिन सक्छन् । सरिया कानुनले सबै मुस्लिम धर्मावलम्बीले गर्ने प्रार्थना, व्रत र गरिबलाई दान दिनुपर्नेलगायत जीवनमा पालना गर्नुपर्ने नियमको समेत काम गर्छ । यसले कसरी हरेक मुस्लिमले आफ्नो जीवनको प्रत्येक क्षेत्रलाई अल्लाहको इच्छाबमोजिम अघि बढाउनु पर्छ भन्ने बुझ्न सघाउने उद्देश्य लिएको हुन्छ ।

सरियाले कसुरलाई दुई वर्गमा छुट्टाएको छ । पहिलो ‘हद’ कसुर जुन गम्भीर अपराधसँग सम्बन्धित छ । यसमा दिइने सजाय पहिल्यै तोकिए अनुसार हुन्छन् । कसुरदारको हात काटेर सजाय दिइने चोरी र थप कठोर सजाय हुन सक्ने व्यभिचारलगायतका कसुर यस अन्तर्गत पर्छन् । हद कसुरमा सजाय दिइनुअघि कसुरबारे धेरै उच्च तहका प्रमाण सुनिश्चित गरिएको हुनुपर्ने मान्यता छ । केही मुस्लिम देशले हद कसुरमा यस्ता सजाय लागु गरेर अभ्यासमा समेत ल्याएका छन् ।

दोस्रो ‘तजिर’ अपराध हो । यसमा दिइने दण्ड न्यायाधीशको विवेकमा भर पर्छ । मुस्लिमहरूबिच नै यस्ता कठोर सजायबारे मत बाझिएको पाइएको छ । अरू कानुनी प्रणाली जस्तै सरिया पनि एउटा जटिल कानुनी अभ्यास हो । अनि यो पूरै विशेषज्ञको तालिम र क्षमतामा निर्भर रहन्छ । यो प्रणालीमा इस्लामिक न्यायाधीशले फतवा र आदेश जारी गर्छन् । फतवा भनेको एउटा औपचारिक कानुनी आदेश हो ।

सरिया कानुनका पाँच फरक सिद्धान्त छन् । सुन्नी मुस्लिमले मान्ने चार मान्यता हनबली, मलिकी, सफी र हनफी हुन् भने एउटा सिया मान्यता जाफरी हो । पाँचै मान्यता सरिया कानुनको उत्पत्तिसँग जोडेर कुन हदसम्म दुरुस्तै व्याख्या गरिएको छ, शब्दमा उतारिएको छ भन्ने आधारमा अलग अलग छन् । लोकतन्त्रविरोधी तालिबानको अतिवादले अफगानिस्तानमा लोकतन्त्र नहुँदा अहिले सबै क्षेत्र अस्तव्यस्त छ । तालिबान कट्टरपन्थी इस्लामिक समूह हो । यसले लोकतन्त्र मान्दैन । सरिया जस्तो कठोर कानुन लादेर आतङ्कित सत्ता चलाउन चाहन्छ । २० वर्षअघि त्यही ग¥यो । अहिले पनि तालिबान लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्ने पक्षमा देखिएन । सन् २००४ मा बनाइएको लोकतान्त्रिक संविधान विस्थापित गरेर सरिया कानुन लागु गरेको छ ।  

२० वर्षसम्म अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेना र अफगान सेनासँग युद्ध गरेको तालिबानले राजधानी काबुल सन् २०२१ को अगस्त १५ मा कब्जामा लियो । देशको अधिकांश भूभाग कब्जामा लिएर तालिबान विद्रोहीले काबुल घेराबन्दी गरेपछि थप रक्तपात नहोस् भनी राष्ट्रपति असरफ घानीलगायतका उच्चअधिकारी सत्ता त्यागी विदेशतिर भागे । तालिबानले सत्ता कब्जाको गरेको यो चार वर्षको अवधिमा एकपछि अर्को कदम चाल्दै कठोर शासन चलाइरहेको छ । अहिले तालिबानलाई चुनौती दिने अर्को शक्ति नहुँदा अफगानिस्तानमा निरङ्कुश अतिवादी सत्ताले जनजीवन अस्तव्यस्त बनाएको छ । महिला र बालिका सबैभन्दा बढी प्रताडित भएका छन् । 

तालिबान शब्द पास्तु भाषाबाट बनेको हो । जसको अर्थ हुन्छ, विद्यार्थी । हिंसात्मक आन्दोलन सुरु गर्नुअघि उनीहरू धार्मिक विद्यार्थीका रूपमा विभिन्न समारोहमा सहभागी हुन्थे । सुन्नी मुस्लिमका धार्मिक मान्यता पढाउन साउदी अरेबियाले प्रायोजन गरेका कार्यक्रममा उनीहरू सहभागी हुन्थे । तर पछि उनीहरू हिंसात्मक गतिविधि गर्ने समूहमा परिणत भए । सन् १९८९ मा सोभियत सङ्घले आफ्नो सेना फिर्ता गरेपछि तालिबानले फैलने मौका पायो । सन् १९९४ मा औपचारिक रूपमा मुल्लाह मोहमद ओमरले तालिबान समूहको स्थापना गरे । ओमरको सन् २०१३ मा मृत्यु भयो । ओमरपछि आएका मुल्लाह अख्तर मन्सुर पनि सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा मारिए । मन्सुर मारिएपछि अहिले मुल्लाह हिबतुल्लाह अखुन्जदा तालिबानको सर्वोच्च नेता छन् ।

तालिबानले पहिलो पटक सन् १९९६ मा सत्ता कब्जा गरेको थियो । तालिबान सरकारलाई अमेरिकाले मान्यता दिएको थिएन । सन् २००१ को सेप्टेम्बर ११ मा न्युयोर्कमा आतङ्कवादी आक्रमण भयो । अल कायदा नेता ओसामा बिन लादेनले आक्रमणको जिम्मा लिए । अमेरिकाले आतङ्कवादविरुद्ध युद्धको घोषणा गर्दै सन् २००१ को अक्टोबर ७ बाट अफगानिस्तानमाथि आक्रमण सुरु ग¥यो । डिसेम्बर पहिलो साताभित्र तालिबान सत्ता ढल्यो ।

सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिबान सत्ता हुँदा पाकिस्तान, युएई र साउदी अरेबियाले मात्र तालिबानलाई मान्यता दिएका थिए । तालिबानहरू आफूलाई इस्लामिक इमिरेट अफ अफगानिस्तान भन्छन् । उनीहरूको आम्दानीको अर्को स्रोत भनेको अफिमलगायतका लागुऔषधबाट लिइने कर हो । तालिवानले अफिम खेती र बिक्रीबापत १० प्रतिशत कर लिने गरेका छन् । कब्जा गरेको क्षेत्रमा भएका विभिन्न कारोबारबाट कर लिएर तालिबानले आम्दानी गर्दै आएको छ ।

अफगानिस्तानमा कुनै पनि विदेशी सेनाले सफलता पाउन सकेन । तीन पटक ब्रिटिस सेनाले हस्तक्षेप ग¥यो । पहिलो पटक सन् १८३९ देखि १८४२ सम्म, दोस्रो पटक १८७८ देखि १८८० सम्म र तेस्रो पटक १९१९ मा हस्तक्षेप गरे पनि सफलता पाउन नसकेपछि ब्रिटिस सेना फिर्ता भयो । २० औँ शताब्दीमा तत्कालीन सोभियत सङ्घले अफगानिस्तानमाथि हस्तक्षेप ग¥यो । सन् १९७९ मा प्रवेश गरेको सोभियत सेना नौ वर्षसम्म लडाइँ ग¥यो । अन्त्यमा १५ हजार सेना गुमाएर सन् १९८९ मा त्यहाँबाट फिर्ता भयो । २१ औँ शताब्दीमा अमेरिकाको नेतृत्वमा बहुराष्ट्रिय सेनाले २० वर्षसम्म अफगानिस्तानमा तालिबानविरुद्ध लड्यो तर सफलता प्राप्त भएन । यो अवधिमा दुई लाख ५० हजार मानिसको ज्यान गयो । त्यसमा ७८ हजार अफगान सेना, ८४ हजार तालिबान लडाकु, ७१ हजार सर्वसाधारण र ३५ सय बहुराष्ट्रिय सेना मारिए । अमेरिकाले २० खर्ब डलर खर्च ग¥यो । आखिर उपलब्धि शून्य भयो ।   

Author

रामप्रसाद आचार्य