• १८ पुस २०८१, बिहिबार

सरकारलाई कांग्रेस सांसद भण्डारीको प्रश्न: एनसेलबाट रकम असुली गर्नुपर्दैन ?

blog

सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारी ।

काठमाडौँ, भदौ १८ गते। सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले एनसेलबाट अर्बौँ बक्यौता रकम असुली नगरेको भन्दै सरकारको आलोचना गर्नुभएको छ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले एनसेलको बक्यौता रकम असुली गर्नुपर्दैन भन्दै सरकारलाई प्रश्न गर्नुभयो। 

सांसद भण्डारीले एनसेल र विद्युत् पैसा उठाउन नसकिने, जहाजहरू ग्राउन्डेड हुनेलगायतका विषय बाहिर आउँदा पनि सरकारलाई चिन्ता नभएको उल्लेख गर्दै त्यसबारे संसद्लाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो। उहाँले प्रजातन्त्र केही सीमित व्यक्तिहरूको लुटतन्त्रमा परिणत भएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो।

सांसद भण्डारीले भन्नुभयो, ‘सधैँ एनसेल। कहिले ६५ अर्ब तिरेन। कहिले विद्युतको पैसा तिरेन। कहिले के ? यो के नाटक हो ? यो के नाटक हुँदैछ ? त्यसकारण यसको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुपर्छ। सरकारले यसको जवाफ दिनुपर्छ। एनसेलले पैसा तिर्नुपर्दैन ? जनतासँग पैसा लैजाने, चलाउने। जनतासँग पैसा लिएपछि सरकारले उठाउनुपर्दैन ? कुन न कुनै गडबढी नभई बत्तीको बिल उठाउनु झगडा, पैसा तिर्नका निम्ति झगडा, प्लेनहरू ग्राउन्डेड हुने समस्या। के यो मुलुकमा सरकारलाई चिन्ता छैन ? सरकार केका निम्ति ? प्रजातन्त्र केका निम्ति ? केही सीमित व्यक्तिलाई ब्रह्मलुट गर्नका लागि हो ? यो प्रश्न उठेको छ। म आदरणीय सभामुखमार्फत यसको जवाफ सरकारले तुरुन्त दिनुपर्छ। यसको रुलिङ पनि गर्नुपर्छ भन्ने म माग गर्न चाहन्छु।’

सांसद भण्डारीले विकास, निर्माणका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्न नसकेकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो।