• ११ मंसिर २०८१, मङ्गलबार

प्रदेशमा मन्त्री बिक्रीको अभिव्यक्तिः सरकारसँग जवाफ माग

मन्त्रीहरू जिब्रोमा ब्रेक लगाएर बोल्नुस् : सांसद खतिवडा

blog

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा धारणा राख्नुहुँदै सांसद् रामहरि खतिवडा।

काठमाडौँ, भदौ १८ गते। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका मन्त्रीहरूलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले प्रदेशमा मन्त्री बिक्रीको अभिव्यक्ति आएको भन्दै यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको हो। सांसद खतिवडाले गण्डकी प्रदेशमा मन्त्रीको पद बिक्री गर्न लागिएको भन्ने चर्चा चलेको भन्दै सो अभिव्यक्तिको सन्दर्भमा सरकारसँग जवाफ माग गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा छ।यो के हो ? यो बारे कसले जवाफ दिनुपर्ने हो, यसको जवाफ हामी खोज्न चाहन्छौँ।मन्त्रीको पद पैसामा बिक्री गर्न सुरुवात गरेको हो कि होइन ? यस्ता अभिव्यक्ति किन आउँछन् योबारे सरकारले जानकारी देओस् ।’’

त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनअघि नेपाल प्रहरीको महानिरीक्षकको जिब्रो थुत्नुपर्दछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो। उहाँले सो अभिव्यक्तिको सम्बन्धमा संसदमा जवाफ दिन माग गर्नुभयो।उहाँले मन्त्रीलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘म सत्तारुढ पक्षकै सांसद हुँ।तर सूचना तथा सञ्चारमन्त्रीले केही दिन पहिला नेपाल प्रहरीका आइजिपीका जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिनुभएछ।यो अभिव्यक्ति आपत्तिजनक छ।मन्त्रीहरूलाई आग्रह गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयोस्।अन्त कहाँ–कहाँ लगाउनुपर्ने हो ब्रेक लाग्दै गर्ला।तर मन्त्रीहरूले चाहिँ जिब्रोमा ब्रेक लगाएर बोल्ने गरियोस्।सभामुखसँग अनुरोध गर्न चाहन्छु यसको जवाफ संसदमा दिइयोस् ।’’