• १३ असोज २०८१, आइतबार

एमाले पोलिटब्युरो बैठक जारी

blog

एमालेको पोलिटब्युरो बैठकमा सहभागी प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेता । तस्बिर : सागर बस्नेत

काठमाडौँ, भदौ १८ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । 

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा सचिवालय बैठकबाट तयार पारेको पार्टी कामको योजना र समसामयिक राजनीतिक अवस्थाका विषयमा विस्तृत छलफल हुने जानकारी दिनुभयो । 

उहाँका अनुसार कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरणलाई अझ व्यवस्थित गर्ने, बाँकी जिल्ला अधिवेशन तथा पालिका अधिवेशन समयमै व्यवस्थित रूपमा सम्पन्न गर्ने उल्लेख छ ।  

यसैगरी, बैठकमा कार्ययोजनामा पार्टी प्रवेश गर्नुभएकालाई तीन महिनाभित्र कमिटीमा जिम्मेवारी दिइने उल्लेख छ । पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कुलका स्थायी संरचना खडा गर्नेसमेत कार्ययोजनामा समेटिएको छ।

सबै पार्टी सदस्यले वर्षको एक पटक अनिवार्य रूपमा पार्टी स्कुलबाट दीक्षित हुनेगरी ढाँचा तयार गरिएको जनाइएको छ । 

साथै कार्ययोजनामा प्रचार कार्यलाई थप व्यवस्थित बनाउने र कमिटीलाई बजेट बनाएर कामलाई अगाडि बढाउने कुरा उल्लेख गरिएका छन् । यस्तै, पार्टीको हरेक वर्षका लागि तय भएका र बाँकी रहेका काम पार्टीको इतिहास लेखन, ‘सेल्टर’ पुस्तक प्रकाशन र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेलगायत महत्त्वपूर्ण कार्य कार्ययोजनामा समेटिएको प्रमुख गौतमले जानकारी दिनुभयो ।