• ११ मंसिर २०८१, मङ्गलबार

एक दशकदेखि पक्की पुल जीर्ण

blog

जीर्ण अवस्थामा रहेको रेप्का पुल । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता

तम्घास, भदौ १७ गते । इटालियन सरकारले २०५२ सालमा निर्माण गरिदिएको मोटरेबल पुल जीर्ण बन्दै गएको छ । एक दशकदेखि पुल जीर्ण बन्दै गए पनि नयाँ पुल निर्माण र मर्मतमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन । गण्डकी प्रदेशको स्याङ्जाको मिर्मी र लुम्बिनी प्रदेशको गुल्मी हर्मिचौर जोड्ने रेप्कामा रहेको मोटरेबल पुल जीर्ण बन्दै गएको हो ।

कालीगण्डकी जलविद्युत् परियोजना ‘ए’ निर्माणको क्रममा गुल्मीको हर्मिचौर र स्याङ्जाको मिर्मीलाई जोड्ने गरी कालीगण्डकी नदीको रेप्कामा इटालियन सरकारले पुल निर्माण गरिदिएको हो ।कालीगण्डकी नदीले पुलको पिल्लरमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको छ । बुटवल र  पोखरादेखि गुल्मीको पुर्तिघाट र बागलुङसम्म जाने सवारीसाधनले सो पुलको प्रयोग गर्दै आएका छन् । पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवाला कसैले विकल्पका रूपमा नयाँ पुल बनाउन पहलकदमी नलिएको सवारीधनी र स्थानीयले गुनासो गर्दै आएका छन् । सवारीचालक गगन तरामूले जुनसुकै समयमा पनि पुल भत्किन सक्ने भन्दै हजारौँ जनताको जिउधनका बारेमा कसैले पनि चासो नदेखाएको गुनासो गर्नुभयो । 

पुल हुँदै जोखिम मोलेरै यात्रा गर्नुको विकल्प नरहेकाले मुटु दरिलो बनाएर मात्रै यात्रा गर्ने गरेको सवारीचालकले बताउँदै आएका छन् । वर्सौंदेखि जीर्ण रूपमा रहेको पुलका बारेमा हालसम्म पनि कसैको ध्यान पुग्न नसक्नु दुःखद भएको यहाँका स्थानीयले जनाएका छन् । आवश्यक पर्ने ठाउँ नहेरी अनावश्यक ठाउँमा र नेताको पहुँचका आधारमा खोला नै नभएका ठाउँमा पुल निर्माण गर्ने प्रचलन हुनुले पनि समस्या भएको तरामूले बताउनुभयो । यस स्थानमा नयाँ पुल निर्माण गर्न सबैले पहल गर्नुपर्ने स्थानीय तिलक रानाले जोड दिनुभयो । 

कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले जीर्ण बन्दै गएको मोटरेबल पुलको ठाउँमा नयाँ पुल निर्माणका लागि स्थानीय सरकारको पहल जारी राखेको बताउनुभयो । यसैबिच गण्डकी प्रदेशबाट उक्त पुल मर्मतका लागि यस आर्थिक वर्षमा काम हुने गरी बजेटको व्यवस्था भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । दशकौँदेखि उक्त पुल जीर्ण भएकाले पुल मर्मतका लागि ८० लाख रुपियाँ बजेटको व्यवस्था गरिएको शाखा अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिनुभयो ।