• १६ भदौ २०८१, आइतबार

गुल्मीमा एक वृद्ध मृत फेला

blog

रमेश विश्वकर्मा
गुल्मी, भदौ १४ गते ।
गुल्मीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर –६, जोहाङ्गका ६७ वर्षीय शङ्करप्रसाद गौतम मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शुक्रबार बिहान ७ः३० बजेको समयमा चौडिलास्थित खैरेनी–भार्से जाने बाटोमा गौतम मृत अवस्थामा फेला पर्नुभएको जिल्ला गुल्मीका प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सूचना अधिकारी शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

निज मृत अवस्थामा रहेको यस वडाका वडाध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रहरीलाई खबर गर्नुभयो । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विकको कमाण्डमा चार जनाको प्रहरी टोलीले घटनास्थल सुरक्षा गरी राखेको छ ।

गौतम अविवाहित मानसिक अवस्था ठिक नभएको, मागी खाई हिँड्ने गरेको भन्ने बुझिएको छ । घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको नेतृत्वमा प्रहरी टोली खटिएको छ । पोष्टमार्टम पश्चात् शवलाई परिवारको जिम्मा लगाइने जानकारी डिएसपी पोखरेलले दिनुभयो ।