• १६ भदौ २०८१, आइतबार

दुधको भुक्तानी दिन मुख्यमन्त्रीको निर्देशन

blog

देउखुरी समाचारदाता

देउखुरी, भदौ १४ गते । मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगन्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय देउखुरीमा बिहीबार नेपालगन्ज दुग्ध वितरण आयोजनाका प्रमुखसहित कर्मचारीसँगको छलफलमा उहाँले छ/सात महिनादेखि दुधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेकाले अविलम्ब भुक्तानी गर्न निर्देशन दिनुभएको हो । 

“किसानले दुधको भुक्तानी नपाउँदा समस्या परेको छ । मसम्म पनि किसानको कुरा आइपुगेको छ । दुधको भुक्तानी रोकिँदा चौतर्फी असर परेको छ,” उहाँले भन्नुभयो, “छिटो भुक्तानी गर्नुहोस् ।”

गत पुस महिनाबाट किसानले दुधको भुक्तानी पाएका छैनन् । दुग्ध विकास संस्थानले भुक्तानीका लागि अर्थ मन्त्रालयमा ६० करोड माग गरेको छ । लुम्बिनी प्रदेशको बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज दुग्ध वितरण आयोजनाले किसानको २० करोड रकम भुक्तानी गर्न बाँकी देखिएको छ । अर्थतन्त्रको बलियो आधारका लागि दुग्ध व्यवसायलाई प्रवर्धन गर्ने गरी प्रदेश सरकारले योजना बनाउने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गर्नुभयो । छलफलमा नेपालगन्ज दुग्ध वितरण आयोजनाका प्रमुख दिलीप चौधरीले दुधमा आत्मनिर्भरताका लागि नेपालगन्ज दुग्ध वितरण आयोजनाको क्षमता विस्तार गर्न प्रस्ताव गर्नुभएको छ ।

दुध उत्पादन बढ्दै गए पनि बजारीकरणको समस्या भोग्नुपरेको गुनासो किसानको छ । असोज महिनादेखि चैतसम्म दैनिक आठ हजार लिटर दुध सङ्कलन हुने गरेको छ । असोज, कात्तिक, मङ्सिर, पुस, माघ, फागुन र चैत महिनामा दुध उत्पादन बढे पनि बजारीकरण गर्न समस्या हुँदा ‘मिल्क होलिडे’ को मारमा किसान छन् । 

दुग्ध वितरण आयोजनाले विभिन्न चिस्यान केन्द्रबाट दुध सङ्कलन गर्दै आएको छ । त्यस्तै १११ सहकारी संस्थामार्फत किसानले दुध बिक्रीवितरण गर्दै आएका छन् । दुधको सहज बजारीकरणका लागि पाउडर प्लान्ट बनाउन प्रस्ताव गरिएको छ ।