• १६ भदौ २०८१, आइतबार

नेसनल हाइड्रो मर्मत गर्न तिस करोड लाग्ने अनुमान

blog

चित्र मिजार

सिन्धुपाल्चोक, भदौ १४ गते । बाढीले क्षतिग्रस्त नेसनल जलविद्युत् आयोजना पूर्व अवस्थामा फर्काउन ३० करोडभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । नेपालीको मात्र लगानीमा निर्माण भई विद्युत् उत्पादन गरिरहेको ७.५ मेगावाटको उक्त हाइड्रोपावर गएको असार ३१ गतेको बाढीले क्षति पुर्‍याएको थियो । बाढीले आयोजनाको पावर हाउसको स्विचयार्डलगायतका संरचनामा क्षति पुर्‍याएको थियो । 

आयोजनाका स्टेसन म्यानेजर इन्जिनियर वसन्तलाल कर्णले बाढीको भेलले निरन्तर रूपमा पावर हाउसलगायतका संरचनालाई दबाब दिँदै आएकाले बाढीबाट आयोजना अति जोखिममा रहेको बताउनुभयो । 

२०७८ असार १ गतेको याङ्ग्री लार्केको भीषण बाढीले भे्रमाथाङदेखि सोहोर्‍याएर ल्याएको गे्रगानले बगरलाई धेरैमाथि उठाएपछि सामान्य बाढी पनि उक्त हाइड्रोमा पस्ने गरेको थियो । गत असार ३१ गते राति आएको बाढीले संरचनामा क्षति पुर्‍याएका उहाँले बताउनुभयो । बाढीले ठुला ठुला ढुङ्गा, गेग्य्रान, माटोलगायतका वस्तु पावर हाउसभित्र पसेको छ । 

उक्त क्षतिग्रस्त आयोजनामा पसेको बाढीले थोपरेको ढुङ्गा, गेग्य्रानलगायतका वस्तु पन्छाउन र मेलम्ची पेट्रोल पम्पनजिकैको ट्रान्समिसन लाइनको टावरलाई क्षति पुगेका कारण आयोजना जोखिममा रहेको छ । अहिले आयोजनालाई अस्थायी व्यवस्थापन गरी सञ्चालन गरिएको छ । बाढीले क्षति पुर्‍याएको संरचना मर्मत गर्न ३० देखि ४० करोड रुपियाँ लाग्ने अनुमान गरिएको कर्णले बताउनुभयो ।  

आयोजना एक महिना बन्द हुँदा झन्डै सवा दुई करोड नोक्सानी बेहोर्नु परेको आयोजनाले जनाएको छ । साथै ड्याम क्षेत्र आउजाउ गर्ने सडकको भाग पनि बाढीले बगाएको छ । अहिले पनि निरन्तरको बर्सातले सो आयोजनालाई क्षति पुर्‍याउँदै आएको छ । जोखिम मोलेरै प्राविधिकले अहिले पनि विद्युत् उत्पादन गरेका छन् ।