• १६ भदौ २०८१, आइतबार

औद्योगिक ग्राम निर्माणमा अलमल

blog

चार वर्षदेखि तानसेनस्थित कुनसरेमा निर्माणाधीन औद्योगिक ग्रामको संरचना । तस्बिर : रेखीराम राना

तानसेन समाचारदाता

तानसेन, भदौ १४ गते । तानसेनका चार पालिकामा औद्योगिक ग्राम बन्ने घोषणा भए पनि त्यसले सार्थकता पाएको छैन । तानसेन, रामपुर, रिब्दीकोट र माथागढी गाउँपालिकामा औद्योगिक ग्राम बनाउने सरकारको योजना रहेको थियो । 

कतै रकम अभावले औद्योगिक ग्राम निर्माणको काम अलपत्र जस्तै बनेको छ । कतै काम नै सुरु हुन सकेको छैन । पालिकाभित्र सञ्चालन हुन सक्ने मझौला तथा साना उद्योग एकै स्थानमा सञ्चालन गर्ने योजना अनुसार सरकारले आर्थिक वर्ष २०७७/७८ देखि औद्योगिक ग्राम निर्माणको कामलाई अगाडि बढाएको थियो । औद्योगिक ग्राम निर्माणमा भएको ढिलाइले पालिकासमेत अलमलमा रहेको छ । 

जिल्लाको माथागढी गाउँपालिकाले चार वर्षअघि औद्योगिक ग्राम निर्माणका लागि वडा नं. २ स्थित रुप्सेमा जग्गा उपलब्ध गराइसकेको छ तर त्यसका लागि सङ्घीय सरकारले कुनै बजेट विनियोजन गर्न नसक्दा थप काम अगाडि बढ्न सकेको छैन । 

यस्तै जिल्लाको रिब्दीकोट गाउँपालिकाले एक वर्षअघि रिब्दीकोट–३ स्थित चकल्दीमा औद्योगिक ग्रामका लागि जग्गा उपलब्ध गराएको थियो । सरकारले त्यसका लागि आव २०७९/८० मा एक करोड रुपियाँ पालिकालाई सङ्घीय सरकारले उपलब्ध गराए पनि त्यसबाट काम हुन नसकेको पालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । पालिकाले औद्योगिक ग्राम निर्माण गर्न २७ करोडको डिपिआर बनाए पनि रकम कम हुँदा काम अगाडि नबढेको उहाँले बताउनुभयो ।

तानसेन नगरपालिकामा पाँच वर्षअघि सुरु भएको औद्योगिक ग्रामको काम कछुवा गतिमा अगाडि बढेको छ । रकम अभावले सोचे अनुसार औद्योगिक ग्राम निर्माणको काम हुन नसकेको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताउनुभयो । सात करोड रुपियाँभन्दा बढीको डिपिआर तयार गरेको नगरपालिकासँग आफ्नै स्रोत कम भएको र सङ्घीय सरकारले क्रमागत रूपमा एक करोडभन्दा बढी रकम पठाउन नसक्दा काममा ढिलाइ भएको उहाँको भनाइ छ ।