• १६ भदौ २०८१, आइतबार

कृषि विकासमा सहयोग गर्न आग्रह

blog

काठमाडौँ, भदौ १४ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी आर्थिक सहयोग गर्न नेपालस्थित अमेरिकी दूतावासलाई आग्रह गर्नुभएको छ । 

कृषि मन्त्रालयमा बिहीबार नेपालस्थित अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र युएसएआइडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोसँगको भेटघाटमा मन्त्री अधिकारीले सो आग्रह गर्नुभएको हो । 

अमेरिकाले सन् १९५० को दशकदेखि नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि त्यस्तै सहयोगको अपेक्षा गरेको कुरा मन्त्री आधिकारीले भेटघाटका क्रममा राख्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।  

सरकारले दिगो विकास लक्ष्य प्राप्तिका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, कृषि अनुसन्धानलाई बढावा दिने, कृषि पूर्वाधारको विकासलाई तीव्रता दिने, उत्पादित कृषि उपजको आन्तरिक एवं बाह्य बजारमा सहज पहुँच पु¥याउने, नेपालको भौगोलिक क्षेत्र विशेष कृषि उत्पादनलाई अन्तर्राष्ट्रियकरण गरी कृषि पर्यटनसमेतको सम्भावनालाई साकार पार्ने योजना अघि बढाएको धारणा मन्त्री अधिकारीले राख्नुभएको थियो । 

नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री अधिकारीले उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने लक्ष्य लिएको बताउनुभयो । 

दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोनले नेपाल–अमेरिकाबिच आर्थिक, सामाजिक सहयोग सदैव हुँदै आएको र त्यसलाई निरन्तरता दिने धारणा राखेको बताइएको छ । 

अमेरिकाले विभिन्न दातृ निकायमार्फत कृषिमा सहयोग गर्दै आएको बताउँदै उहाँले कृषिलगायत अन्य आर्थिक क्षेत्रमा सहयोगको दायरा बढाउने कुरा राख्नुभएको बताइएको छ । त्यसै गरी युएसएआइडी मिसन डाइरेक्टरले कृषिसहित नेपालको आर्थिक विकासमा आफूहरू सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।