• २ माघ २०८१, बुधबार

‘बजार अनुगमन गर्न एकीकृत संयन्त्र’

blog

काठमाडौँ, भदौ १४ गते । चाडबाड नजिकिँदै गर्दा उत्पन्न हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्रीवितरण नियन्त्रण गर्न सरकारले एकीकृत अनुगमन संयन्त्र परिचालन गर्ने भएको छ ।

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र उपभोक्तासम्म सहज उपलब्धलाई सुनिश्चित गरी अस्वाभाविक मूल्यवृद्धिलाई निरुत्साहित गर्न गृह प्रशासन, सुरक्षा निकाय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभागलगायत उपभोक्ता हकहितमा काम गर्ने सङ्घ सस्थालाई एकीकृत संयन्त्रमार्फत बजार अनुगमनमा खटाउन लागेको हो ।

चाडबाडलक्षित सहज आपूर्ति व्यवस्था तथा प्रभावकारी अनुगमनका लागि सरोकारवाला निकायसँगको गृह मन्त्रालयमा बिहीबार भएको छलफलमा गृहमन्त्री रमेश लेखकले विगतभन्दा फरक र परिणाम देखिने गरी अत्यावश्यक वस्तुको आपूर्तिसँगै अनुगमनलाई प्रभावकारी बनाउन एकीकृत संयन्त्र परिचालन गरिने बताउनुभयो । 

बजार अनुगमन परिणाममा देखिने प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिँदै मन्त्री लेखकले भन्नुभयो, “चाडबाड नजिकिँदै गर्दा विगतमा अत्यावश्यक वस्तुको अभाव र अस्वाभाविक मूल्यवृद्धि हुने गरेको थियो, यसलाई पूर्ण रूपमा नियन्त्रण गरी सुलभ मूल्यमा सहज उपलब्धता प्रत्याभूत हुने गरी एकीकृत अनुगमन प्रणालीलाई कार्यान्वयन गर्नु पर्छ ।” 

उहाँले कालोबजारी र अस्वाभाविक मूल्यवृद्धिमार्फत हुने ठगी नियन्त्रण गर्न चाडबाड सुरु हुनुभन्दा एक महिनाअघिदेखि नै अनुगमनको एकीकृत संयन्त्र परिचालन गर्नसमेत निर्देशन दिनुभयो ।  

गुणस्तरहीन खाद्यवस्तुको बिक्री चाडबाडमै हुने र त्यस्ता अखाद्य वस्तु उपभोक्तासम्म पुगेर गम्भीर स्वास्थ्य समस्या सिर्जना हुने भएकाले मन्त्री लेखकले कडाइसाथ अनुगमन गरी दोषीलाई कडा कारबाही गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रलाई निर्देशन दिनुभयो ।

गृह मन्त्रालयका सचिव टेकनारायण अर्यालले बजार अनुगमनलाई प्रभावकारी बनाउन गुनासो सुन्ने व्यवस्थाका लागि देशभरका मुख्य सहरमा क्युआर प्रणालीको विकास गर्ने, सुपथ मूल्य पसललाई विगतभन्दा गुणात्मक सङ्ख्यामा वृद्धि गर्ने, यातायात, दैनिक उपभोग्य वस्तु खरिदबिक्री स्थललगायत उत्पादन केन्द्रलाई समेत निगरानीमा राखेर अनुगमन गरिने बताउनुभयो । 

मन्त्रालयले विशेष अनुगमनका लागि केन्द्र प्रदेश र स्थानीय तहसम्म नै परिचालन हुने गरी विशेष संयन्त्र बनाउने तयारी गरेको छ । बजार अनुगमनको जिम्मेवारी स्थानीय तहको रहे पनि कतिपय प्राविधिक र सुरक्षा संयन्त्रसहितको टोली परिचालन गर्ने तयारी गृह मन्त्रालयले गरेको छ । मन्त्रालयले अनुगमनको प्रभावकारिता चाडबाड सकिएपछि गर्ने जनाएको छ । 

छलफलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले छलफलमा बजार अनुगमनको अवस्था, बजार अनुगमनको अपेक्षा, अत्यावश्यक दैनिक खाद्य तथा उपभोग्य वस्तुको आपूर्तिबारे जानकारी गराउनुभएको थियो । यस्तै बजार अनुगमनको दोहोरोपना हटाएर सरकारले मूल्य निर्धारणको हक राख्नुपर्नेमा सरोकारवालाको जोड थियो ।