• १३ भदौ २०८१, बिहिबार

वालिङ नगरपालिकाको बजेट सार्वजनिक

blog

पत्रकार सम्मेलनमा बजेट बारे जानकारी गराउँनु हुँदै नगर प्रमुख कृष्ण खाँण लगायत । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ,भदौ १३ गते । वालिङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट विवरण सार्वजनिक गरेको छ । आन्तरिक विवादका कारण समयमा सार्वजनिक गर्न नसकेको पालिकाले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा नगर प्रमुख कृष्ण खाँणले नगरपालिकाको विकास र समृद्धिको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । सामान्य रूपमा रहेका विवादहरू समाधान भइसकेको उहाँको भनाइ छ । सबैको सहमतिमा विधि र प्रक्रियाबाट बजेट ल्याइएको उहाँको भनाइ छ । 

पत्रकार सम्मेलनमा वडा अध्यक्ष र केही कार्यपालिका सदस्यहरूको सहभागिता रहेको भए पनि उपप्रमुख कविता तिवारी गैह्रेको भने उपस्थिति रहेको थिएन। 

पालिकाले समयमा बजेट ल्याउन नसकेको भन्दै विरोध भइरहेको थियो । पालिकाले सार्वजनिक गरेको बजेट अनुसार आम्दानी शीर्षकमा आन्तरिक र सङ्घीय तर्फ ८९ करोड ८४ लाख ६८ हजार ७४१ रहेकोमा आन्तरिक स्रोत तथा विभिन्न शीर्षकको ६ करोड, गत वर्षको अल्या ९ करोड ६६ लाख ९३ हजार २४१, सङ्घीय सरकार राजस्व बाँडफाँड १२ करोड ९८ लाख, वित्तीय समानीकरण अनुदानमा १५ करोड १० लाख, समपूरक अनुदानतर्फ २ करोड ८५ लख, विशेष अनुदान तथा चालु पुँजीगत १ करोड २० लाख र शर्सत अनुदान चालुतर्फ ४२ करोड ४ लाख ७५ हजार ५०० रहेको छ ।

त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानमा २ करोड १० लाख २२ हजार, समपूरक अनुदानतर्फ १ करोड, राजस्व बाँडफाँड सवारी साधानतर्फ १ करोड ५७ लख २६ हजार, राजस्व बाँडफाँड दहत्तर बहत्तर तर्फ ६० लाख, घरजग्गा रजिस्ट्रेसन १ करोड, विज्ञापन कर बापत १ लाख ९८ हजार गरी कुल ६ करोड २९ लाख ४६ हजार रहेको छ । यसरी आम्दानी तर्फ सङ्घीय, आन्तरिक र प्रदेश गरी कुल ९६ करोड १४ लाख १४ हजार ७४१ रकम रहेको छ ।