• १३ भदौ २०८१, बिहिबार

बाँके बस दुर्घटना : मृतक दुई जनाको सनाखत

blog

दुर्घटनामा परेको यात्रुवाहक बसलाई डोजरको सहायताले सडकबाट हटाउँदै । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, भदौ १३ गते ।
 बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा मृत्यु भएका दुई जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस नेपालगन्ज नजिकै गनापुरमा बिहीबार दिउँसो दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दुर्घटनामा परी दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको हो । मृतक ओली बसका यात्रु र भुसाल बसका सह–चालक रहेको उहाँले बताउनुभयो ।

दुवै जनाको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला जनाउँदै डिएसपी डाँगीले दुर्घटनामा परी घाइते हुनु भएका २७ मध्ये २६ जनाको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरी प्रवक्ता डाँगीका अनुसार भेरी अस्पतालमा २१ जनाको उपचार भइरहेको छ भने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पाँच जनाको उपचार भइरहेको छ ।

उहाँले घाइते एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भएकोमा उहाँ सामान्य घाइते भएकोले डिस्चार्ज भइसकेको बताउनुभयो । दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सिसिटिभी फुटेजमा तीव्र गतिमा आइरहेको बसले विपरीत दिसाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा पल्टिएको र पल्टिएको बस मोटरसाइकलमा ठोक्किएको देखिएको छ ।

तर बसका चालकले भने बसको पट्टा भाँचिएर बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक बयान प्रहरीलाई दिएको बताइएको छ ।

दुर्घटनाको खबर आउने बित्तिकै जनपथ प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक र स्थानीयको सहयोगमा उद्धार तथा बचाउ कार्य गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।