• १६ भदौ २०८१, आइतबार

अवरुद्ध विद्युत सेवा सुचारु

blog

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, भदौ १३ गते । इस्मा गाउँपालिकामा तीन दिनदेखि अवरुद्ध रहेको विद्युत् सेवा आजबाट सुचारु भएको छ । भदौ १० गते आएको हावाहुरीसँगै चट्याङ र पानीले धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको थियो । 

बस्तुमा रहेको ३३ केभीको सव स्टेसनसम्म जाने लाइनमा क्षती पुगेपछि लाइन अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले जनाएको हो । कार्यालयमा भएको जनशक्ति सबै खटेर अवरुद्ध विद्युत् सेवा बुधबार रातीबाट सुचारु गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीका प्रमुख अर्जुन पोखरेलले जानकारी दिनुभयो ।  

गुल्मीको पश्चिमी भेगमा विरवासबाट उनायचौर हुँदै वस्तु सब स्टेशनसम्म विद्युत् पुर्‍याइएकाे छ । वस्तु सब–स्टेशनबाट धुर्कोट, मालिका, मदाने, इस्मा गाउँपालिका तथा मुसिकोट नगरपालिकाको वडा नम्बर १ र २ मा विद्युत आपूर्ति भइरहेको कार्यालयले जनाएको छ । 

विगत तीन दिनदेखि विद्युत् नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य हुनुका साथै मोबाइल चार्ज र इन्टरनेट सेवाबाट वञ्चित हुनुपरेको थियो ।