• १३ भदौ २०८१, बिहिबार

अनियन्त्रित भएर बस पल्टिँदा दुई जनाको मृत्यु, २७ घाइते

blog

सिराज खान
नेपालगन्ज, भदौ १३ गते ।
बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जना यात्रुको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

बिहीबार दाङबाट नेपालगन्जतर्फ आइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरस्थित नमस्ते कटेजको अगाडि एउटा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भ पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले नेपालगन्ज पुग्न  लागेको बस अनियन्त्रित भ पल्टिँदा दुईजनाको मृत्यु भएको र २७ जना घाइते भएको जानकारी आएको बताउनुभयो ।

उहाँले मृतकको अझै सनाखत नभएको जनाकारी दिनुहुँदै घाइतेहरुलाई नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा पुर्‍याइएको बताउनुभयो ।

दुर्घटनाको खबर आउने बित्तिकै जनपद प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक र स्थानीयको सहयोगमा उद्धार तथा बचाउ कार्य गरिएको जानकारी डिएसपी डाँगीले बताउनुभयो ।

यता, भेरी अस्पतालमा २२ जना घाइतेको उपचार भइरहेको र दुई जना मृतकलाई पनि पुर्‍याइएको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताउनुभयो ।

उहाँले घाइतेमध्ये केही गम्भीर भएकाले अस्पतालको सबै जनशक्तिलाई खटाएर भए पनि उपचार कार्य गरिरहेको बताउनुभयो ।
सो दुर्घटनाको विस्तृत जानकारी आउन केही समय लान्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।