• १३ भदौ २०८१, बिहिबार

परसपुर–गौघाट सडक : सम्झौता सकिनै लाग्दा एक चौथाइ काम

blog

निर्माणाधीन परसपुर–गौघाट सडकखण्ड ।

कमल खत्री

धम्बोझी, भदौ १३ गते । बाँके र बर्दियाको पश्चिम क्षेत्रका जनताले दैनिक दुःख पाइरहेको नेपालगन्जको परसपुर–गौघाट सडकखण्डको कालोपत्रे निर्धारित समयमा नबन्ने भएको छ । भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदै छ । काम भने एक चौथाइ अर्थात् २० प्रतिशत मात्र भएको छ । 

सङ्घीय सरकारको लगानीमा बन्न लागेको १४ किलोमिटर लामो सडकखण्ड निर्माणका लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो । करिब १४ करोडमा बन्न लागेको सडक कालोपत्रे कार्यमा भने सुरुवातदेखि नै ढिलाइ हुँदै आएको थियो । 

सडकको कालोपत्रे नहुँदा यहाँका स्थानीयले थप दुःख पाइरहेका छन् । नेपालगन्ज उपमहानगरपालिका, जानकी, खजुरा गाउँपालिका र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले यो सडक दैनिक प्रयोग गर्ने गर्छन् ।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रवक्ता इन्जिनियर अमिर सुवेदीका अनुसार हालसम्म योजनाको २० प्रतिशत मात्र काम सकिएको छ । सडकको केही भागमा नालाको काम र माटो पटानभन्दा अरू केही प्रगति भएको छ । निर्माणको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक पटक ताकेता गरे पनि सम्पर्कमै नआउने गरेको इन्जिनियर सुवेदीले बताउनुभयो । ठेक्का पाएको कम्पनीको लापर्बाहीका कारण समयमै योजना सम्पन्न नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले समयमै योजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई दबाब दिँदै आएका छौँ । कानुनी रूपमा कार्बाहीका लागि प्रक्रिया पनि अगाडि बढाएका छौँ तर प्रगति भने निराशाजनक छ ।”

सम्झौता अनुसार कन्काई–गणपति जेभीले २०७९ वैशाखदेखि निर्माण कार्य सुरु गरेर २०८१ साल भदौ २५ गतेसम्म योजना सम्पन्न गर्नुपर्ने सर्त रहेको छ । निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै यहाँका स्थानीयले आन्दोलन गरेका थिए । खजुराका जनताले स्थानीय जनप्रतिनिधि र सडक डिभिजन कार्यालयमा गएर सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्न दबाब दिँदै आएका छन् । सडक समयमै निर्माण नभएको भन्दै स्थानीयले खजुरा गाउँपालिका–२ को कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । २०७४ सालमा सडकको कालोपत्रे निकालेर पिच गर्ने योजना थियो तर हालसम्म पनि सडकको स्तरवृद्धि हुन सकेको छैन । चार महिनाअघि आन्दोलनको अगुवाइ गर्नुभएका स्थानीय रेशम क्षेत्रीले ठेकेदार कम्पनीले सम्झौता अनुसार बाटो निर्माण कार्य समयमै गर्नुपर्ने माग राख्नुभएको थियो । 

पटक–पटक निर्माण कम्पनीलाई दबाब दिए पनि काम हुन नसकेको खजुरा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष धनराम ओलीले बताउनुभयो । वडा कार्यालयमा लागेको ताला सहमतिमा खोलेपछि वडाध्यक्ष ओलीले ठेकेदार कम्पनीले काम नगरे कानुनी रूपमा कारबाहीका लागि सरकारले प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभयो । 

यसै गरी गत माघ महिनामा सम्झौता अनुसार सन्तोषजनक काम नगरेको भन्दै सडक डिभिजन कार्यालय नेपालगन्जले कन्काई–गणपति जेभीसहित नौ वटा कम्पनीलाई सात दिनभित्र लिखित प्रतिवेदनसहित कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो ।

कन्काई–गणपति जेभीका प्रमुख तुलसीराम भण्डारीले भदौ २५ गतेसम्म निर्माण कार्य सम्पन्न हुन नसक्ने बताउनुभयो । अहिले बर्सातको समय भएकाले पिच गर्न नसकिने भन्दै केही समय माग गर्ने भण्डारीले बताउनुभयो । उहाँले भन्नु भयो, “करिब आठ महिना अझै समय लाग्छ । त्यसका लागि हामी सरकारसँग समय माग गर्छौं ।”