• १३ भदौ २०८१, बिहिबार

लगानी भित्र्याउन तयार हुँदै अवधारणा

blog

काठमाडौँ, भदौ १३ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि लगानी दशकका लागि अवधारणापत्रलाई अन्तिम रूप दिइरहेको छ । कृषि मन्त्रालयले चालु आर्थिक वर्षदेखि कृषि लगानी दशक सुरु गरेको छ । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरिबहादुर केसीले कृषि लगानी दशक यो चालु आवदेखि नै सुरु भइसकेको बताउनुभयो । 

त्यसका लागि अवधारणापत्र तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । कृषि मन्त्रालयका सचिव डा. दीपक खरालको नेतृत्वमा एउटा समिति बनेको छ, त्यो समितिले अवधारणापत्र तयार गरिरहेको केही दिनमै त्यसलाई सार्वजनिक गर्ने गरी काम अगाडि बढेको प्रवक्ता केसीले बताउनुभयो । 

नेपालका लागि कृषि मूल क्षेत्र, आर्थिक समृद्धिका लागि कृषिलाई मुख्य आधार मानेको छ तर त्यसका लागि लगानी नै पुगेको छैन । 

कृषिमा विकास गर्नका लागि अझै लगानी आवश्यक छ भन्दै सरकारले लगानी जुटाउनका लागि लगानी दशक नै सुरुवात गरेको छ । अवधारणापत्र सार्वजनिक भइसकेपछि सोही अनुसार ‘फ्रेमवर्क’ तयार गर्ने प्रवक्ता केसीले बताउनुभयो । 

अवधारणापत्र तयार भइसकेपछि सात वटै प्रदेशमा त्यसमाथि छलफल गराउने, त्यसपछि विभिन्न सरोकारवालासँग छलफल गरी लगानीका स्रोतहरू पहिचान गरी ‘फ्रेमवर्क’ तयार गर्ने उहाँले बताउनुभयो । कृषिमा लगानी ल्याउनका लागि सरकारी तथा निजी क्षेत्र, वैदेशिक सहायता नियोग, विभिन्न डेभलप्मेन्ट पार्टनरलगायतसँग छलफल गर्ने बताउँदै उहाँहरूलाई सरकारको अवधारणाबारेमा जानकारी गराउँदै आवश्यकता रहेको क्षेत्रमा लगानीका लागि पहल गर्ने बताउनुभयो । त्यसमा लगानी सम्मेलनदेखि लिएर कर सुधारका कुराहरू पनि छन्, उहाँले भन्नुभयो, “एक दशकभित्र कृषिमा लगानी कसरी भित्र्याउन सकिन्छ, त्यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा बहस र पैरवी गर्छौं ।”