• १६ भदौ २०८१, आइतबार

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका पहिलो

blog

संस्थागत क्षमता स्वमूल्यांकनमा पहिलो भएको बाँकेको डुडुवा गाउँपालिका कार्यालय। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, भदौ ११ गते। बाँकेका आठ वटा स्थानीय तह मध्ये संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा गाउँपालिका पहिलो भएको छ। आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्याङ्कनको अन्तिम नतिजामा जिल्लाका आठ स्थानीय तहमध्ये डुडुवा ८५ अङ्कका साथ प्रथम भएको हो।

८१ अङ्कका साथ कोहलपुर नगरपालिका दोस्रो र ७७.५० अङ्कका साथ तेस्रो स्थानमा खजुरा गाउँपालिका रहेको छ। यस्तै चौथो स्थानमा रहँदै जानकी गाउँपालिकाले ७६.५० अङ्क प्राप्त गरेको छ भने पाँचौँ स्थानमा रहेको बैजनाथ गाउँपालिकाले ७३.२५ अङ्क हासिल गरेको छ। 

त्यसपछिका स्थानमा राप्तीसोनारी गाउँपालिका ७०.५०, नरैनापुर गाउँपालिका ६७.२५ र सबैभन्दा पछाडि रहेको नेपालगन्ज उपमहानगरपालिकाले ६४.७५ अङ्क प्राप्त गरेका छन्।

गाउँ तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्याङ्कनको प्रणाली कार्यान्वयनमा ल्याएको छ।

नेपालगन्ज उपमहानगरपालिकाले आगामी दिनमा सो नतिजामा सुधार गर्दै जाने जनाएको छ।