• १६ भदौ २०८१, आइतबार

सुशासनलाई प्राथमिकताका साथ अघि बढाएका छौँ : मुख्यमन्त्री आचार्य

blog

पुरस्कार वितरण पश्चात सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्य। तस्बिर : इमान सिं राना

इमान सिं राना 

रामपुर (पाल्पा), भदौ ११ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासनलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ । सरकार गठन भएसँगै सुधारका कार्यलाई अघि बढाएको बताउनुभएको हो । 

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको आयोजनामा भएको सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै आचार्यले प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकमार्फत प्रदेशमा सुशासन कायम  गर्न र भ्रष्टाचारलाई न्यूनीकरण गरेर जानका लागि रणनीतिक कार्ययोजना बनाएर जाने निर्णय गरेर अघि बढेको बताउनुभयो । ‘विभिन्न ठाउँमा उपभोक्ता समिति गठन गरेर ठेकेदार मार्फत काम गर्ने  प्रवृत्ति न्यूनीकरणका लागि पाँच लाख भन्दा बढीका आयोजना इविडिङ्ग प्रक्रिया बाट अगाडि बढाउनुपर्छ भन्ने निर्णय गरेर प्रदेश मातहतका कार्यालयमा परिपत्र परिसकेका छौँ,’ उहाँले भन्नुभयो । 

आचार्यले मुख्यमन्त्री र अन्य मन्त्रीले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गरेर पालना गर्ने प्रतिबद्धता गरिएको बताउनुभयो । उहाँले लुम्बिनीको पर्यटन विकासका लागि लुम्बिनी सर्किटको अवधारणालाई अघि बढाएको बताउनुभयो । 

प्रेस स्वतन्त्रता सेननी मेघराज शर्माले एकथोक भन्ने अर्को गर्दा जनता निराश भएको बताउनुभयो । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले पत्रकारिता विचारसँग सम्बन्धी रहेको बताउनुभयो । 

प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले नेपाली पत्रकारितामा पाल्पाली पत्रकारिताको गौरवपूर्ण इतिहास रहेको बताउनुभयो । प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले पत्रकारिताको माध्यमबाट नागरिकलाई जिम्मेवार बनाऊ र लोकतान्त्रिक गणतन्त्रको संस्थागतमा महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्रराज कार्कीले देश निर्माणमा, उद्यम विकाशमा पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु सकारात्मक सन्देश प्रवाहलाई विशेष प्राथमिकता दिन आग्रह गर्नुभयो । 


लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले सत्यको पक्षमा विकृति र विसङ्गति विरुद्धमा लाग्न सञ्चारकर्मीलाई अनुरोध गर्नुभयो ।  

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले जिल्लाका २१ क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ । मंगलबार तानसेनमा कार्यक्रम गरी महासङ्घले शाखामा स्थापना भएका विभिन्न अक्षयकोष मार्फत उत्कृष्ट पत्रकारलाई नगद सहित पुरस्कृत गरेको हो । 

शाखामा स्थापना भएका अक्षयकोष मार्फत जिल्लामा क्रियाशील पत्रकार मध्येबाट छनौट गरी पुरस्कृत गरिएको महासङ्घ पाल्पा शाखाका अध्यक्ष रेखीराम राना जानकारी दिनुभयो ।