• १४ भदौ २०८१, शुक्रबार

तम्घासमा रोपाइँ जात्रा

blog

रमेश विश्वकर्मा

गुल्मी, भदौ ११ गते । गुल्मीको तम्घासमा श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रोपाइँ जात्राका साथमा विभिन्न प्रहसन देखाइएको छ । आज बिहान श्रीकृष्णको रथ यात्रासँगै दिनभर रोपाइँ जात्रा तथा लाखे नाच लगायतका झाँकी प्रदर्शन गरिएको हो ।

संयुक्त तम्घास स्थान मन्दिर व्यवस्थापन समितिको आयोजनामा सञ्चालन गरिएको रथ यात्रा तथा रोपाइँ जात्रामा दर्जनौँ सङ्घ-संस्थाहरूको सहभागितामा श्रीकृष्ण जन्माष्टमीलाई उल्लासमय रूपमा मनाइएको हो । यहाँका नेवार समुदायले प्रदर्शन गरेको लाखे नाच, रेसुङ्गा माध्यमिक विद्यालयका विद्यार्थीहरूको पञ्चेबाजा सहितको प्रस्तुति देखाएका हुन् ।

तम्घास्थान मन्दिर नयाँ बजारबाट सुरु भएको रथ यात्रा तथा रोपाइँ जात्रा बजार परिक्रमा पश्चात् चिदिचौर खेलमैदानमा लगेर देखाइएको थियो । यस अवसरमा रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको थियो । रेसुङ्गा नगरपालिका भित्रको सबैभन्दा ठुलो पर्वको रूपमा श्रीकृष्ण जन्माष्टमी पर्वलाई मनाइँदै आएको संयुक्त तम्घासस्थान मन्दिर व्यवस्थापन समितिका सचिव ताराप्रसाद भुसालले बताउनुभयो ।

रथ यात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राधा माधव समिति, सत्य साई केन्द्र, रक्त सञ्चार समूह, पतञ्जलि योग समिति, पूर्व प्रहरी सङ्गठन, नेपाल स्काउटलगायतका सङ्घ-संस्थाहरूको सहभागिता रहेको थियो । स्थानीय तहले पर्वको अवसरमा सार्वजनिक बिदा दिएपनि बिदाको औचित्य पुष्टि गर्न यहाँका जनप्रतिनिधि, कर्मचारीहरू, रथ यात्रामा सहभागी बन्न नसक्नु निकै दुःखद पक्ष रहेको आयोजकले जनाएको छ ।

ऐतिहासिक रूपमा सञ्चालन हुँदै आएको रथ यात्रा र रोपाइँ जात्रालाई आगामी दिनमा स्थानीय तहले सबैको सहभागिता उल्लेख्य रूपमा बढाउने गरी वातावरण सिर्जना गर्नुपर्ने सहसचिव विनोद पाण्डेले बताउनुभयो । वैदिक सनातन संस्कृतिको संरक्षणका लागि सबै जुट्नुपर्ने विश्व हिन्दु महासङ्घ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो । उहाँले समाजमा रहेका विकृति, विसंगतिहरुलाई हटाउन हटाउन यस्ता पर्वहरूले ठुलो महत्त्व राख्ने बताउनुभयो ।

रेसुङ्गा नगरपालिकाको सम्पत्तिका रूपमा रहेको रोपाइँ जात्राको संरक्षण र युवाहरूमा यसको ऐतिहासिकता उजागरका लागि कार्यक्रम गरिएको रोपाइँ जात्रा सञ्चालन समितिका संयोजक निशेष श्रेष्ठले बताउनुभयो ।