• १० भदौ २०८१, सोमबार

गाउँ जोड्ने सडक अवरुद्ध

blog

रुकुमपूर्व समाचारदाता

रुकुमपूर्व, भदौ १० गते  । बर्सातका कारण जिल्लाका ग्रामीण तथा कृषि सडक अवरुद्ध भएका छन् । पहिरोले सडक अवरुद्ध हुँदा पैदलयात्री तथा सवारीसाधन आवतजावतमा समस्या भएको हो । रुकुमपूर्वका तीन वटै स्थानीय तहका विभिन्न ग्रामीण तथा कृषि सडक अहिले पूर्ण रूपमा अवरुद्ध छन् । असारदेखि लगातार वर्षा भएकाले जिल्लाका विभिन्न खण्डका ग्रामीण सडक अवरुद्ध भएका हुन् । वर्षायाममा हरेक वर्ष पहिरोले ग्रामीण सडक अवरुद्ध हुने गरेको छ । 

भुमे गाउँपालिका–९, चुनबाङ–भुमे–८, कुचिबाङ–सिमखोला, भुमे–६, रुन्ची–नाखे–तामारी–खाम्दै–महत सडकखण्ड अवरुद्ध छ । यसै गरी भुमे–७, गुनाम–लाबाङ, भुमे–५, बालुवा–दालिबाङ–मछैना, भुमे–२, गाबाङ–आरुडाँडा, भुमे–३, मोराबाङ–क्याङ्सी–झुम्लाबाङलगायत ग्रामीण तथा कृषि सडक पहिरोले अवरुद्ध भएका छन् । 

सिस्ने गाउँपालिका–५, रुकुमकोट–रुमालबारा–भुमे गाउँपालिका–८, मैबाङ–होर्दिङ–भुमे–९, चुनबाङ, भुमे–८, दोमै–कोर्जा–चुनबाङलगायत जिल्लाका अधिकांश ग्रामीण सडकखण्ड पनि पहिरोले बन्द छन् भने केही ग्रामीण सडक बेला बेलामा पहिरो हटाई जसोतसो सञ्चालन भएका छन् । 

यातायात सञ्चालन नहुँदा स्थानीयलाई आवतजावत गर्न, खाद्यान्न ढुवानी गर्न र बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउनसमेत समस्या हुने गरेको भुमे–३ का श्यामलाल थापाले बताउनुभयो । बिरामीलाई तत्काल स्वास्थ्य संस्थासम्म पु¥याउन मुस्किल हुने गरेको अर्का स्थानीय पूर्णबहादुर विकले बताउनुभयो । 

अवरुद्ध सडक नियमित गरे पनि पुनः पहिरो आएर सडक अवरुद्ध हुने गरेको भुमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकका समस्या बुझेर सडक खुलाउने गाउँपालिकाको चाहना हो । लगातार वर्षाका कारण सडक खुलाउन नसकिए पनि अब दसैँतिहारअघि पूर्ण रूपले सडक नियमित गरिने छ ।”