• १० भदौ २०८१, सोमबार

घोराही–तुलसीपुर सडक : ठेक्का अनिश्चित सडक जीर्ण बन्दै

blog

निर्माणाधीन अवस्थामा घोराही–तुलसीपुर सडक । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, भदौ १० गते  । दाङमा निर्माणाधीन घोराही–तुलसीपुर चार लेन सडकको ठेक्का तोडिएको एक वर्षभन्दा बढी भयो । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम नगरेर सडक अलपत्र पारेपछि २०८० जेठमा तत्कालीन सरकारले भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता रद्द गरेको थियो । 

ठेक्का सम्झौता तोडेपछि नेपाल सरकारको लगानीमा मर्मत गरिएको सडक पुनः जीर्ण बन्न थालिसकेको छ तर लगानीको सुनिश्चित नहुँदा सडक विस्तारको ठेक्का भने अझै अनिश्चित छ । यसअघि भारतीय एक्जिम बैङ्कको करिब एक अर्ब २३ करोड रुपियाँको लागतमा सडक विस्तारको काम सुरु भएको थियो । निर्माण कम्पनीसँग ठेक्का सम्झौता रद्द गरेपछि घोराही–तुलसीपुर सडक सडक चार लेन बनाउने गरी नयाँ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । यसअघि घोराही–तुलसीपुर सडकखण्डको करिब २९ किलोमिटर सडकमध्ये १४.४६ किलोमिटर चार लेन र १३.७६ किलोमिटर दुई लेनको बनाउने गरी ठेक्का सम्झौता भएको थियो । 

सडक सुधार तथा विकास आयोजनाका प्रमुख अर्जुनप्रसाद अर्यालका अनुसार नयाँ डिपिआर स्वीकृतिका लागि साउनको पहिलो साता सडक विभाग, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै भारत पठाइएको थियो तर लगानीकर्ता भारतीय एक्जिम बैङ्कबाट स्वीकृतिका लागि भारतीय दूतावासमार्फत भारत सरकारलाई पठाएको करिब एक महिना बित्दा पनि कुनै जवाफ प्राप्त नभएको सडक सुधार तथा विकास आयोजनाका प्रमुख अर्यालले बताउनुभयो । लगानीकर्ताबाट जवाफ  नआएपछि नेपालकै बजेटबाटै घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि छलफल चलेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो सम्झौता तोडेपछि सडकलाई नयाँ ढङ्गले अघि बढाउनका लागि नयाँ डिपिआर गरेर पठाएका थियौँ तर अहिलेसम्म कुनै खबर आएको छैन ।”

घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि सडक विभाग र अर्थ मन्त्रालयबिच कुरा चलिरहेको भन्दै नेपाल सरकारले नै लगानी गरेर सडक विस्तारको कामलाई अघि बढाउने अवस्था भएमा ठेक्का प्रक्रिया अघि बढ्ने बताइएको छ ।  

भारतीय लगानीकर्ता हुँदा ठेक्का प्रक्रियाका लागि लामो समय लाग्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “नेपालकै लगानीमा बहुवर्षीय योजना अन्तर्गत सडक विस्तारको काम हुने अवस्था आएमा डिपिआरमा केही सुधार गरेर ठेक्काको काम अघि बढाउन सकिन्छ ।” नयाँ डिपिआरमा पहिलेभन्दा लागत बढेको छ । सुरुमा एक अर्ब २३ करोड बजेट रहेको उक्त सडकमा नयाँ डिपिआर अनुसार करिब साढे तीनदेखि चार अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ ।  

नयाँ डिपिआर स्वीकृतिका लागि भारतीय दूतावासमार्फत एक्जिम बैङ्कलाई पठाएको र एक्जिम बैङ्कले अध्ययन गरेर स्वीकृत गरेपछि घोराही–तुलसीपुर चार लेन सडकलाई ठेक्का प्रक्रियामा लैजाने तयारी थियो । नयाँ डिपिआर अनुसार घोराहीको बबई नदीदेखि तुलसीपुरको हात्तीखोवासम्म २९ किलोमिटर सडक चार लेन बन्ने र निर्माणको काम नेपाली निर्माण व्यवसायीले पनि गर्न पाउने गरी गरिएको छ । अर्यालले भन्नुभयो, “पहिले घोराही–तुलसीपुर सडक कतै चार लेन र कतै दुई लेन बन्ने गरी डिपिआर बनेको थियो । अहिले त्यसलाई परिमार्जन गरेर पूरै २९ किलोमिटर सडक चार लेन बनाउने गरी डिपिआर तयार गरिएको छ ।” 

घोराही–तुलसीपुर चार लेनको काम २०७५ माघदेखि सुरु भएको हो । ३० महिनाभित्रमा काम सक्ने गरी भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता भएको थियो तर चौथो पटक म्याद थप भइसक्दा पनि काम अघि बढ्न सकेको छैन । सुरुमा २०७८ जेठ ६ भित्र काम सक्नुपर्ने सहमति थियो तर त्यो अवधिमा छ प्रतिशत मात्र काम भएको थियो ।

त्यसपछि २०७८ साउन २७ सम्म काम सक्ने गरी पहिलो पटक र २०७८ पुस २८ गते सक्ने गरी दोस्रो पटक म्याद थप भयो । फेरि पनि काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ वैशाख २९ गते सक्ने गरी म्याद थप भएको थियो । त्यो समयमा पनि १० प्रतिशतभन्दा बढी काम भएन । त्यसपछि चौथो पटकका लागि २०८० साल असारसम्म स्वतः म्याद थप गरिएकोमा त्यो अवधिमा पनि काम सक्ने अवस्था नदेखिएपछि तत्कालीन सरकारले २०८० जेठमा ठेक्का सम्झौता रद्द गरेर घोराही–तुलसीपुर सडक गत असोजमा मर्मत गरिएको थियो ।