• १० भदौ २०८१, सोमबार

संरक्षण गरिँदै बटौली बजार

blog

बटौली बजार संरक्षण गर्न आयोजित छलफलमा सहभागीहरू ।

बुटवल समाचारदाता

बुटवल, भदौ १० गते । बुटवलको पुरानो एवं ऐतिहासिक बजार बटौलीलाई सम्पदा संरक्षित क्षेत्रका रूपमा विस्तार गर्ने गरी संरक्षण गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले त्यसका लागि सम्बन्धित पक्षसँग छलफल थालेको छ । बुटवलको वडा नं. १ र २ मा पर्ने पुरानो बजार ‘बटौली’ क्षेत्रलाई पुरानै अवस्था झल्काउने गरी पुनर्निर्माण गर्ने, सम्पदा संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ बुटवल उपमहानगरपालिकाले छलफल थालेको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सुरुमा वडा नं. १ का केही घरको पुनर्निर्माण गर्ने, मर्मत गर्ने र पहिले जसरी व्यापार व्यवसाय सञ्चालन गर्ने अवस्थामा पु¥याउन अध्ययन गरेर बाँकी काम अगाडि बढाउन पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार अहिले माथिल्लो पुलको गणेशथान मन्दिरदेखि सिद्राबजार र लायन्स गेटसम्मको क्षेत्रका ४२ घरलाई पुनस्र्थापित गर्ने गरी योजना बनाइँदै छ । यसका लागि स्थानीयसँग छलफल गर्ने, इच्छुकलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्ने र नगरले आर्थिक रूपमा सहयोग गर्ने गरी प्रारम्भिक योजना बनेको छ । 

बटौली बजारलाई सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न धेरैअघिदेखि छलफल चलाउँदै आएको बताउँदै नगरप्रमुख पाण्डेयले बुटवलको पहिचान बोकेको बटौली बजार संरक्षण प्रमुख योजना रहेको बताउनुभयो । पुरानो बुटवलका नामले परिचित बटौलीमा थुप्रै पुराना र ऐतिहासिक घर छन् । तीमध्ये जीर्ण भएका र पुनर्निर्माण गर्न सम्भव हुने घरलाई नयाँ स्वरूप दिई पुरानो बुटवलको मौलिकतामा लैजाने गरी सहरी विकास मन्त्रालयसँग छलफल भइरहेको छ । 

बुटवल उपमहानगरले चालु आर्थिक वर्षमा पुरानो बुटवल क्षेत्रमा ‘हाइमास्ट लाइट’ र परम्परागत फाल्चा निर्माणका लागि बजेट छुट्याइएको र अरू क्षेत्रगत विकासका लागि समेत बजेट विनियोजन गरेको छ । बुटवल उपमहानगरपालिकाका सहरी विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले सुरुमा ४२ वटा घरलाई नमुनाका रूपमा काम अगाडि बढाउने र त्यसपछि बाँकी घरलाई पुरानै शैलीमा रूपान्तरण गर्ने गरी नगर विकास कोष, बुटवल उपमहानगरपालिका र स्थानीय बासिन्दाबिच सहमति गरेर काम अगाडि बढाउने गरी योजना तयार भएको बताउनुभयो । 

तीन पक्षबिच सहमति भई काम सुरु भए दुई वर्षमा सबै काम सकेर स्थानीयले बजार सञ्चालन गर्न सक्ने गरी नगर विकास कोषले गरेको अध्ययन रिपोर्टमाथि परामर्शदाता टोली र बुटवल उपमहानगरपालिकाबिच छलफल भएको श्रेष्ठले बताउनुभयो ।