• १० भदौ २०८१, सोमबार

छाडा पशुचौपाया व्यवस्थापन सुरु

blog

नेपालगन्ज समाचारदाता 

नेपालगन्ज, भदौ १० गते । नेपालगन्जका विभिन्न चोक र मुख्य सडकमा फेरि छाडा चौपाया बढ्दै गएपछि उपहानगरपालिकाले व्यवस्थापन सुरु गरेको छ । छाडा चौपायाकै कारण सडकमा आवागमन गर्न समस्या हुँदै गएको र दुर्घटनासमेत हुन थालेको जनगुनासोपछि व्यवस्थापन सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । 

नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले वर्षाको समयमा सडकमा छाडा पशुचौपायाको सङ्ख्या बढ्ने गरेकाले ती पशुचौपायालाई धपाउँदै कान्जी हाउस पु¥याएर व्यवस्थापन गर्न सुरु गरिएको बताउनुभयो । उहाँले नगरमा छाडा छाडिएका ६४ वटा पशुचौपायालाई वडा नं. २१ बिर्तास्थित कान्जी हाउसमा पु¥याइएको बताउनुभयो । 

शनिबार कान्जी हाउस पु¥याइएका पशुमध्ये ५२ वटा गाईगोरु र १२ वटा घोडा रहेको उपमहानगरका नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताउनुभयो । 

उहाँले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा नगर प्रहरीले नगरका विभिन्न स्थानमा छाडा छाडिएका पशुचौपाया एकत्रित गरेर कान्जी हाउस पु¥याउन सुरु गरेको बताउनुभयो । 

नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन कार्यमा सहयोग गर्न सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । उपमहानगरका प्रमुख विष्टले आआफ्ना पशुचौपाया घरमै बाँध्न अनुरोध गर्नुभएको छ । 

उहाँले पशुचौपाया छाडा छाडेको पाइएमा कडा कारबाही गर्ने चेतावनीसमेत दिनुभएको छ । विष्टले भन्नुभयो, “छाडा चौपायाको दिसाले गर्दा सडक कुरूप बनेको छ, दुर्घटनाको जोखिम पनि बढेको छ । सम्बन्धित पशुधनीले अझै सडकमा पशु छाड्ने गरेका छन्, पशुचौपाया घरमै बाँधौँ, अन्यथा हामी कडा कारबाही गर्न बाध्य हुने छौँ ।” खुला सिमानाका कारण पनि नेपालगन्जमा छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती थपिएको उपमहानगरपालिकाले जनाएको छ । वर्षाको समयमा भारतीय क्षेत्रबाट छाडा पशुचौपाया ठुलो सङ्ख्यामा नेपालतर्फ पस्ने गरेका छन् । जसले गर्दा नेपालगन्जमा छाडा चौपायाको समस्या ज्युँका त्युँ रहने गरेको छ ।