• १० भदौ २०८१, सोमबार

सरकारी जागिर छाडेर बाबुछोरा कागज उद्योगमा

blog

राप्ती कागज उद्योगमा काम गर्दै कामदार । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, भदौ १० गते । दाङको राप्ती गाउँपालिका–१, भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले नेपाली हाते कागजबाट गाउँमै राम्रो आम्दानी गरिरहनुभएको छ । 

२५ वर्ष स्वास्थ्य चौकी भालुवाङमा कार्यालय सहयोगीका रूपमा काम गर्नुभएका जिसीले अवकाशपछि डेढ वर्षअघि नेपाली कागज उद्योग सञ्चालन गर्नुभएको थियो । जागिरबाट अवकाश प्राप्त गरेपछि राप्ती गाउँपालिका–४, पिपरखुटीमा करिब ४५ लाख लगानी गरेर राप्ती कागज उद्योग सञ्चालन गरेका जिसीले उद्योगबाट राम्रो आम्दानीसँगै स्थानीय २० जनालाई रोजगारीसमेत दिनुभएको छ । 

स्थानीयस्तरमै पाइने वनस्पति र केही कच्चा पदार्थ बाहिरी जिल्लाबाट आयात गरी जिल्लामै पहिलो पटक नेपाली कागज उद्योग सञ्चालन गर्नुभएका जिसीले महिनामा लाखौँको आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो समय आर्थिक मन्दीका कारण जिल्लामा धेरै व्यापार व्यवसाय धराशायी भइरहेका बेला नयाँ व्यवसाय सञ्चालन गर्नुभएका जिसीले राम्रो आम्दानी गरिरहेको बताउनुहुन्छ । 

नेपाली कागज उद्योगका लागि आवश्यक कच्चा पदार्थका रूपमा बाबियोलगायतका सामग्री जिल्लामै प्रशस्त मात्रामा पाइने र लोक्ता, अघ्रेलीलगायतका कच्चा पदार्थ पूर्वी नेपालको पाँचथर जिल्लाबाट ल्याउने गरेको बताउनुहुन्छ । 

कागज उद्योगबाट राम्रो आम्दानी हुन थालेपछि राप्ती गाउँपालिकामा सिभिल इन्जिनियरका रूपमा कार्यरत छोरा लालबहादुर जिसीसमेत जागिर छोडेर उद्योगमा बुवालाई सघाउँदै आउनुभएको छ ।  

उद्योगबाट दैनिक विभिन्न साइजका चार हजारप्रति नेपाली कागज उत्पादन भइरहेको छ । एक कोरीमा दुई सयप्रति हुने भन्दै सञ्चालक जिसीले भन्नुभयो, “नेपाली कागजको बिक्रीका लागि बजारको समस्या छैन । जति उत्पादन गरे पनि बिक्री भइरहेको छ ।” उहाँका अनुसार उद्योगबाट उत्पादन भएको कागज पूर्वमा काठमाडौँ, विराटनगरदेखि पश्चिममा नेपालगन्ज, सुर्खेत, धनगढीसम्म जाने गरेको छ ।