• २ भदौ २०८१, आइतबार

बाढीपहिरोमा परी १८२ जनाको मृत्यु

blog

काठमाडौँ, भदौ २ गते । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपदमा परी १८२ जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि भदौ १ गते आइतबार दिउँसोसम्म १८२ जनाको मृत्यु भएको प्रहरीद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेशमा आठ, बागमतीमा ३२, गण्डकीमा ५५, लुम्बिनीमा ३६, कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा एक सय ८२ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौँ उपत्यकामा ११, कोशीमा ३८, मधेशमा १२, बागमतीमा २३, गण्डकीमा ४६, लुम्बिनीमा १८, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा दुई सय ३३ जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौँ उपत्यकामा २८, कोशीमा ४९, बागमतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा तीन, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय १३ जनाको उद्धार गरिएको छ ।

बाढीपहिरोमा परी कोशीमा तीन, मधेशमा एक, बागमतीमा ४१, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ५० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीका कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । तीन सय २१ वटा घर, एक सय ११ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । आठ सय ३८ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार सात सय ८७ घर परिवार विस्थापित भएका छन् ।