• १६ भदौ २०८१, आइतबार

मोटरसाइकल 'मोडिफाइड' गर्ने कारबाहीमा

blog

सन्तोष सुवेदी

कास्की, भदौ २ गते । पोखरामा मोटरसाइकलको स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका १ सय ४९ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

मोटरसाइकल मोडिफाइड गरी ध्वनि प्रदूषण गरी चलाएको आरोपमा साउन ३० देखि भदौ २ गतेसम्म १ सय ४९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

कास्की प्रहरी मातहतमा रहेका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरूप परिवर्तन होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिएर कारबाही गर्दै आएको उहाँले जानकारी दिनुभयो । "पछिल्लो ४ दिनमा पुनः अभियान नै चलाएर १ सय ४९ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गर्ने तयारीमा छौँ," उहाँले भन्नुभयो ।

उहाँले अभियानको क्रममा पहिलो पटकदेखि चौथो पटकसम्म मोडिफाइड गरिएका मोटरसाइकललाई कारबाही गर्दा करिब २२ लाख राजश्व सङ्कलन हुने बताउनुभयो ।

स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रङ्ग, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक,ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम १५ हजार रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।