• १४ पुस २०८१, आइतबार

आस्था र विश्वासको कुण्ड ‘भैरवकुण्ड’

blog

भोटेकोशी गाउँपालिका लेकभेगमा अवस्थित प्रख्यात भैरवकुण्ड ताल ।

चित्र मिजार

सिन्धुपाल्चोक, भदौ २ गते । भोटेकोशी गाउँपालिका शिरभेगमा अवस्थित ‘भैरवकुण्ड’ मा विशेषगरी जनैपूर्णिमामा भव्य मेला लाग्ने गर्दछ । साथै भैरवकुण्ड महत्त्वपूर्ण पर्यटकीय स्थल पनि हो ।

भैरवकुण्ड हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वासका कुण्ड हो । शेर्पा समुदायले भैरवकुण्डलाई ‘आमा छयूमेन’का रूपमा पूजा गर्छन् । 

त्यसकारण पनि भैरवकुण्ड विश्वभर शेर्पा समुदायमा चर्चित रहेको छ । समुन्द्री सतहबाट ४ हजार १२४ मिटर उचाइमा रहेको भैरवकुण्ड समुन्द्री सतहबाट ६ हजार ५६७ मिटर उचाइमा रहेको ‘फुर्वी घ्याचु भञ्ज्याङग’को फेदीमा भैरवकुण्ड अवस्थित छ । विशाल र मनमोहक ताल भैरवकुण्ड स्थलरुपी नापी महाशाखाको तथ्याङ्कमा ८४ हजार १९३ वर्गमिटरमा फैलिएको छ । यसको गहिराई भने मापन नगरिएको जनाइएको छ ।

भैरवकुण्ड तालभन्दा केही तलको क्षेत्रमा नेपालकै दोस्रो अग्लो ‘भैरवकुण्ड छहरा’ छ । यो छहरा १९८ मिटर अग्लो छ । भैरवकुण्ड ताल र भैरवकुण्ड छहराको प्राकृतिक सुन्दरताले जो जुकै लट्ठ पर्छन् । यहाँ नै ‘सम्मुख जुगल हिमशृङ्खला पनि पर्दछ । उक्त हिमशृङ्खलाले झनै पर्यटक लट्ठिने गर्दछन् । प्राकृतिक रूपमा अलौकिक मानिने भैरवकुण्डमा पुग्न निकै कठिनाइ भोग्नु पर्दछ तर त्यहाँ पुग्न खेपिरहेको पीडालाई त्यहाँको प्राकृतिक रसास्वादनले भुलाइदिने भएपछि भैरव कुण्डमा पुग्ने पर्यटक र धर्मावलम्बीको ताँती लाग्ने गर्दछ ।

अरनिको लोकमार्ग भोटेकोशी गापास्थित लार्चाबाट भैरवकुण्ड जानका लागि ठाडो र अप्ठ्यारो, उकालो भीरको बाटो जानु पर्ने छ । करिब दुई दिन पैदल यात्राका माध्यमबाट सो ताल पुग्न सकिन्छ । बिच बाटोमा स्थानीय घर र होम–स्टेमा बास बस्न र अर्गानिक खानाको स्वाद लिन सकिन्छ । पैदल यात्रामा शेर्पा समुदायको सांस्कृतिक रीतिरिवाज, भेषभूषा, रहनसहन लगायतका परम्परा प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । अरनिको राजमार्गको डाक्लाङ, काक्लाङ, लिस्तिमाई अर्थात् उग्रचण्डी भगवती, छगाम, बगाम र चोकर भीर हुँदैँ भैरवकुण्ड पुग्न सकिन्छ । 

भोटेकोशी गाउँपालिका–१ का अध्यक्ष साङबु लामा(राजु) ले जङ्गबहादुर राणाको पालामा भोटसँग लडाई लड्ने बेलामा घुँयत्रो मार हान्न निर्माण गरिएको दुगुनागढी किल्लाबाट पनि भैरवकुण्ड जान सकिन्छ । वि सं १९११ मा भोटसँग युद्धका बेला ऐतिहासिक दुगुनागढी निर्माण गरिएको मानिन्छ । राजधानीबाट १०९ किलोमिटर दुरीमा अरनिको राजमार्गको लार्चा पर्दछ । लार्चाबाट दुई दिन पैदल यात्राबाट भैरवकुण्ड पुगिन्छ । अहिले जनैपूर्णिमाको अवसरमा भैरवकुण्ड तीर्थयात्राका लागि हजारौँ भक्तजनहरू हिँड्दै छन् भने कत्ति जना भक्तजन भैरव कुण्डमा पुगिसकेका छन् । 

भैरव कुण्डमा भगवान् शिव पार्वतीको वासस्थान रहेको किंवदन्ती छ । महादेवको अग्ररुप भैरव सम्हारकर्ताको रूपमा मानिन्छ । भगवान् शिवको क्रिडास्थलको रूपमा भैरवकुण्डलाई लिइन्छ । जनैपूर्णिमाका दिन हजारौँ भक्तजनको उपस्थितिमा भैरव कुण्डमा ठुलो मेला लाग्दै आइरहेको अध्यक्ष लामाले बताउनुभएको छ ।

‘जे माग्यो, त्यही पूरा हुने’–जनशिवसका साथ तीर्थालुहरू भैरवकुण्ड धाउने गर्छन् । भैरवकुण्डको नजिकै प्रख्यात ‘देउढुंगा’ धार्मिक स्थल छ । अरनिको राजमार्गको चाकुबाट ४५ किलोमिटर दुरीमा देउढुङ्गा पुग्न सकिन्छ । भैरवकुण्ड र देउढुङ्गा चर्चित धार्मिक स्थल भएका कारण बर्सेनि यी दुई पवित्रस्थलमा लाखौँ भक्तालु धाउने गर्छन् । आन्तरिक भक्तालु भौगोलिक कठिनाइको प्रवाह नगरी भैरवकुण्ड र देउढुङ्गा पुग्ने गर्छन् । छिमेकी देश चीन, भारत, पश्च्यिमीमूलकबाट पर्यटकहरू भैरवकुण्ड र देउढुंगा आउने गरेका छन् । भैरवकुण्ड र देउढुंगाबाट तिब्बतको विभिन्न भू–भागको दृश्यावलोकन गर्न सकिने भएपछि पर्यटकहरू झनै लोभिने गरेका छन् । 

भैरवकुण्डबाट तिब्बतको कुती, खासा र चीनको हिमालहरू देखिन्छ । काठमाडौँको भरहरासमेत प्रष्ट देखिन्छ । त्यसकारण भदौदेखि कात्तिक र चैतदेखि जेठसम्म युरोपियन मूलक, अमेरिका, जापानका नागरिकहरू पर्यटकको रूपमा भैरवकुण्ड आउने गर्छन् । उनीहरू भैरवकुण्ड र त्यसपासका दृश्य अवलोकन गर्न एक हप्तादेखि महिना दिनसम्म बस्ने गरेको पाइन्छ । खाना बस्नका लागि सा–साना होटल र स्थानीय घरमा बास बस्न पाइन्छ । अधिकांश पर्यटकहरूले बासको लागि टेण्ट र खानाका लागि खानेकुरा लग्ने गरेका छन् । 

पर्यटकहरूले कुण्ड आसपास क्षेत्रमा ठण्डा हावापानीको महसुस गर्न पाउँछन् । यार्सागुम्बा, सुनपाती, ठुलोओखती, पाँचऔंले, जटामसी, नीरमसी, मजेठो, चिराइतो लगायतका हिमाली जडीबुटीको बोटबिरुवा प्रत्यक्ष अवलोकन गर्न पाउँछन् तर टिप्न भने पाउँदैनन् । कुण्ड आसपासका वनजङगलमा बाघ, भालु, थारल, चितुवा, ब्वाँसो, मृग, बँदेल, दुम्सी, हिउँ चितुवा, रेडपाण्डा कालिज लगायतका दुर्लभ वन्यजन्तु, पशुपन्छी प्रत्यक्ष हेर्न पाउँछन् । चौँरी, हेर्न, त्यसको दुध, दुधजन्य पदार्थ खानपिन गर्न पाउँछन् । बिच बाटोमा चौँरीको गोठमा बास बस्न पनि पर्ने हुन्छ । भैरवकुण्ड दुर्लभ वन्यजन्तुको वासस्थान पनि हो ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङर्नृपु शेर्पाले पर्यटकलाई भैरवकुण्ड, देउढुंगा तीर्थयात्रा जाने तीर्थालुलाई सहजता ल्याउन बिचबिच बाटोमा वासस्थान बनाउने, खानेपानी, चौतारी, प्रतीक्षालय बनाउने र पदमार्गको उचित व्यवस्थापन गर्न लागेको जानकारी दिनुभयो । ‘भैरवकुण्ड लगायतका पर्यटकीय स्थललाई थप व्यवस्थित बनाउन पालिका र जनप्रतिनिधिको सम्पूर्ण ध्यान गएको छ’– अध्यक्ष शेर्पाले थप्नुभएको छ । नेपालमै प्रख्यात भैरवकुण्डलाई व्यवस्थित बनाउने र प्रचारप्रसारमा लागे भोटेकोशी र सिन्धुपाल्चोकलाई नै आर्थिक लाभ हुने र विश्वसामु चिनिने पक्का छ ।