• २ भदौ २०८१, आइतबार

संविधान संशोधन गर्न सकिन्छ : पूर्व राष्ट्रपति डा. यादव

blog

चितवनको भरतपुरमा पूर्व राष्ट्रपति डा. रामवरण यादव ।

वसन्त पराजुली

भरतपुर, भदौँ २ गते । पूर्व राष्ट्रपति डा. रामवरण यादवले संविधान डायनामिक दस्ताबेज भएकाले आवश्यकताअनुसार संशोधन गर्न सकिने बताउनुभएको छ ।

राजनीतिक रूपमा संविधान संशोधनको बहस भइरहेका बेला नेपालको संविधान २०७२ लाई प्रमाणीकरण गर्नुभएका तत्कालीन राष्ट्रपति डा. यादवले संविधान संशोधनका सम्बन्धमा जनताले ‘वाचडग’ को भूमिका भने निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । 

चितवनको भरतपुरमा आइतबार पूर्व राजनीतिक सहकर्मीसँगको भेटघाटमा पूर्व राष्ट्रपति डा. यादवले भन्नुभयो, “संविधान डायनामिक दस्ताबेज हो, यो संशोधन भइरहन्छ । यति हो संशोधन कस्तो भइरहेको छ भनेर जनताले वाचडगका रूपमा हेर्नुपर्छ ।” 

संविधान सभाले तयार पारेको नेपालको संविधान २०७२ लाई तत्कालीन राष्ट्रपति यादवले २०७२ असोज ३ गते प्रमाणीकरण गर्नुभएको हो । उहाँले अहिलेको संविधान लोकतान्त्रिक भएको धारणा पनि राख्नुभयो । 

“यो संविधान लोकतान्त्रिक छ । प्रजातान्त्रिक छ । यसमा सबै जोडिएको छ । यसलाई व्यवहारमा उतार्न नसकिएको मात्रै हो” उहाँले भन्नुभयो, “अहिले संशोधनको जुन कुराहरू आइरहेको छ । यी कुराहरू उठी रहन्छ । समयअनुसार संशोधन पनि गर्नुपर्छ । संविधानलाई दिगो बनाउन कमजोरी सच्याउँदै जानुपर्छ ।” 

उहाँले संविधानलाई कसरी व्यवहारमा ल्याइन्छ त्यो महत्त्वपूर्ण हुने बताउनुभयो । २०१७ सालदेखि राजनीतिमा होमिएका आफ्ना पुराना मित्रसँग खुल्दै पूर्व राष्ट्रपति यादवले नेपालको राष्ट्रियता पनि बलियो भएको दाबी गर्नुभयो । 

“राष्ट्रियता नेपालमा कमजोर छैन । म देशभरि घुमेको छु । पहाडदेखि तराईसम्म घुम्दा मैले राष्ट्रियता मजबुत पाएको छु” उहाँले थप्नुभयो, “सहअस्तित्वमा बस्ने हामी नेपाली जनता भएसम्म हाम्रो राष्ट्रियता बलियो हुनेछ ।”