• ३२ साउन २०८१, शुक्रबार

अद्भुत जीव डल्फिन

blog

भाइबहिनीहरूले पक्कै पनि डल्फिनको नाम सुन्नु भएकै छ होला । डल्फिन पानीमा पाइने अद्भुत जीव हो । स्वभाव र बुद्धिमत्ताका लागि डल्फिन परिचित छ । उच्च बौद्धिक क्षमताका कारण मानिससँग यसको विशेष सम्बन्ध छ । प्राचीन ग्रिसमा डल्फिनलाई शुभसङ्केतका रूपमा लिइन्थ्यो र समुद्री देवता पोसाइडनसँग जोडेर हेरिन्थ्यो । नेपाल–भारतमा पनि डल्फिनलाई धार्मिक–सांस्कृतिक कोणबाट हेरिन्छ । 

डल्फिन मानिसपछिको दोस्रो चेतनशील प्राणी हो । पानीमा बस्ने डल्फिन माछा जस्तै देखिए पनि स्तनधारी प्राणी हो । डल्फिनले आफ्नो बच्चालाई दुध खुवाउँछ । डल्फिनको रगत न्यानो हुन्छ । डल्फिन समुद्री स्तनधारी ‘ओर्डर सिटासिया’ समूहमा पर्दछ, जुन समूहमा ह्वेल र पोरपोइज पनि समावेश छन् । डल्फिन पानीमा रहे पनि फोक्सोले सास फेर्छ । डल्फिनको टाउकोमाथि सास फेर्ने प्वाल हुन्छ, जसलाई ‘ब्लोहोल’ भनिन्छ । डल्फिन चिल्लो र फिक्का खैरो रङको हुन्छ । डल्फिनको टाउको ठुलो र थुतुनो लामो हुन्छ । डल्फिनको थुतुनोलाई ‘रोस्ट्रम’ भनिन्छ ।  डल्फिनको शरीर अत्यन्तै लचिलो र सशक्त भएकाले पानीमा सजिलै पौडन्छ । डल्फिनको छातीको पखेटा (पेक्टोरल) ले दिशा परिवर्तन र पुच्छरको पखेटा (टेल फ्लुक) ले गति नियन्त्रण गर्छ । डल्फिनको मुखमा एक सय वटा दाँत हुन्छ । 

समुद्र र नदीमा गरी विश्वमा करिब ९० प्रजातिका डल्फिन पाइन्छ । तीमध्ये केही प्रजाति निम्नानुसार छन्ः

बोटलनोज डल्फिन– डल्फिनमा सबैभन्दा परिचित बोटलनोज डल्फिन हो । संसारभर पाइने यी डल्फिनको थुतुनो बोतल जस्तो हुन्छ । सोही कारण यिनीहरूलाई ‘बोटलनोज’ डल्फिन भनिएको हो । यी डल्फिन अत्यन्तै बुद्धिमान हुन्छन् । स्पिनर डल्फिन– यी डल्फिन हावामा उफ्रने र आफ्नो शरीरलाई धेरै पटक घुमाउँदछन् ।

किलर ह्वेल (ओर्का)– ओर्कालाई किलर ह्वेल भनिए पनि यिनीहरू डल्फिन नै  हुन् । किलर ह्वेल सिकारमा निकै पारङ्गत हुन्छ । 

गङ्गेज डल्फिन– भारतको गङ्गा, ब्रह्मपुत्र, मेघना र नेपालका कोशी, नारायणी कर्णाली र मोहना नदीमा पाइने डल्फिनलाई ‘गङ्गेज डल्फिन’ भनिन्छ । अङ्ग्रेजले गङ्गालाई ‘गङ्गेज’ भन्ने गरेका कारण गङ्गा बेसीनमा पाइने डल्फिनलाई ‘गङ्गेज डल्फिन’ भनिएको हो । गङ्गेज डल्फिनको वैज्ञानिक नाम ‘प्लाटानिस्टा गाङ्गेटिका’ हो । गङ्गेज डल्फिनलाई सुदूरपश्चिममा ‘सुस’ भनिन्छ । गङ्गेज डल्फिनको आँखा हुँदैन । आँखामा क्रिस्टलिन लेन्स नहुँदा यिनीहरू देख्दैनन् । आवाजको प्रतिध्वनिको माध्यमबाट यिनीहरू वातावरण पत्ता लगाउँछन् । यी डल्फिनको शरीर र थुतुनो लामो हुन्छ । 

सामाजिक प्राणी

डल्फिन समूहमा बस्दछन् । यिनीहरूको समूहलाई ‘पोड’ भनिन्छ । एउटा पोडमा सयौँ डल्फिन हुन्छन् । यिनीहरू सँगै खाना खोज्छन् । 

डल्फिन अत्यन्तै बुद्धिमानी जीव हो । यिनीहरूले विभिन्न माध्यमबाट बुद्धिमत्ताको प्रकट गर्दछन् । सजिलै नयाँ खेल सिक्छन् । मिलेर जटिल काम गर्दछन् । वैज्ञानिकहरूका अनुसार डल्फिनहरूको आफ्नै भाषा हुन्छ । यिनीहरू आवाज र सङ्केतका आधारमा कुरा गर्छन् । डल्फिनहरू माछा र साना समुद्री जीव खान्छन् । यिनीहरू समूहमा सिकार गर्छन् । 

डल्फिनले खेल्न मन पराउँछ । यिनीहरू पानीमा जम्प गर्ने गर्छन् । सर्कलमा घुम्छन् र हावाका फोकाहरू बनाएर रमाइलो गर्छन् । अमेरिकामा डल्फिनलाई समुद्रभित्र खानी पत्ता लगाउन र गोताखोरलाई मद्दतका लागि तालिम दिइएको छ ।  

Author

रतन भण्डारी