• ३२ साउन २०८१, शुक्रबार

युवा ढुकढुकीको लोकतन्त्र

blog

नेपालको शासन सत्ता कब्जा गरेर १०४ वर्षसम्म नेपाली नागरिकलाई ‘रैती’ बनाएको जहानियाँ राणा शासनविरुद्ध क्रान्तिको बिगुल समाउँदा महामानव बिपी कोइराला ३६ वर्षका तन्नेरी थिए । आफू जस्ता युवालाई उनले ‘तरुण’ भन्थे । नेपाली कांग्रेसमा पछि मात्रै गठन भएको बिपी परिकल्पनाको त्यही आयाम थियो । राणातन्त्र अन्त्य गर्ने क्रान्तिको नेतृत्व गरेर सफल भएपछि बिपी ३६ वर्षमै गृहमन्त्री बने । 

इतिहासका अझ अघिल्ला पाना पल्टाउने हो भने तन्नेरी वयहरू ज्यानमा खेल्दै गर्दा २० वर्षमै त्यो बेला पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गरिसकेका थिए । नेपालमा राणा शासनविरुद्ध मात्रै होइन त्यो बेला विश्वका धेरै राष्ट्रमा बिपीकै उमेरका समकालीनले क्रान्ति अनि राष्ट्रको नेतृत्व गरिरहेका थिए । विश्वमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनको लहरले धेरै ‘तरुण’हरूलाई नेता बनाएको थियो । राष्ट्र अनि सरकारको नेतृत्व गर्ने अवसर पनि दिलाएको थियो । छिमेकी पाकिस्तानमा ३५ वर्षीया बेनजिर भट्टो प्रधानमन्त्री नै भइसकेकी थिइन् । 

दक्षिण तथा पूर्वी एसियाका धेरै देशमा चलेको प्रजातान्त्रिक आन्दोलनबाट धेरै त्यस्ता तन्नेरीहरू नेतृत्वमा थिए । राणापछि फेरि जनताबाट राजाले खोसेको प्रजातन्त्रका लागि क्रान्ति छेँडेका बिपीले २०३६ सालमा टुडिखेलमा भएको एउटा विशाल जनसभालाई सम्बोधन गर्दै युवापुस्तालाई आफूसँगै तुलना गर्दै सम्झिएका थिए । उनले त्यो बेला भनेका थिए ‘म भन्दा धेरै दुःख पाएका र यातना सहेका, त्याग गरेका, तपस्या गरेका हाम्रो मुलुकमा सयकडौँ यङ्मेन (युवा) हरू छन् । म त चिनिएको छु, अरूहरू त प्रजातन्त्रको जगमा त्यस्ता गडेका पत्थरहरू हुन्, जसलाई कसैले चिन्दैन । प्रजातन्त्रको त्यो मन्दिरका तल गडेका जगमा रहेका ढुङ्गा जस्ता कति सहिद भए, आजको उत्साहको दिनमा हामीहरूले तिनीहरूलाई सम्झिनु पर्छ, जसको त्याग र बलिदानबाट आज यस ठाउँमा म उभिएर तपाईंहरूसँग केही भन्न पाइरहेछु ।’ 

यही उद्गारबाट प्रस्ट हुन्छ बिपी गर्भसिद्धान्तको त्यो समाजवादका हरेक आत्मामा युवा हृदय धड्किन्थ्यो । ‘समाजवाद’ को ऐना हेर्न कांग्रेसको पङ्ख बनेर उडेका युवाले त्यो बेला प्रजातान्त्रिक लडाइँको आकाश थामेका थिए तर आज हामी देखिरहेका छौँ, युवापुस्ता राजनीतिबाट अलग छ । बालापनबाट किशोरवय हुँदै गर्दा हरेक युवाको सपना विश्वका सम्पन्न देशमा सयर गरिरहेको हुन्छ । यसको अर्थ हो हामीले युवा पुस्तालाई राजनीतिमा जोड्नसकेका छैनौँ । अर्थात् बिपी जस्ता दूरदर्शी नेतृत्वले परिकल्पना गरेको राष्ट्र निर्माणमा हामीले युवा कडीलाई जोड्न असफल भइसकेका छौँ । 

आजको युवा राजनीतिको ‘र’ पनि सुन्न चाहँदैनन् । राष्ट्र निर्माणका लागि युवाको यो हदसम्मको ‘नफरत’ अन्ततः देशकै भविष्यको अँध्यारो बाटो पनि हो । यसमा न आजको नेतृत्व चिन्तित छ न राष्ट्रको भविष्यप्रति युवा नै । भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक र दर्शनशास्त्री एपी जे अब्दुल कलामले भनेका छन्, ‘युवाको हौसला, उनीहरूको कौशल अनि समर्पणबाटै देशको भविष्य निर्माण हुन्छ । आज हामी हाम्रा तन्नेरी जमातले धामधम देश छोडेको टुलुटुलु हेरेर बसिरहेका छौँ । अनि त्यसमै हामी रमाइरहेका छौँ । आज राजनीतिमा युवा छैन, देशको नेतृत्वमा युवा छैन अनि देशमै युवा छैन । युवा नजोडिएका नेतृत्व अनि नीतिहरूले देशको कस्तो भविष्य निर्माण गर्लान् यो आफैँमा चिन्तनीय र सोचनीय छ ।

नेपालको तथ्याङ्क हेर्ने हो भने कुल जनसङ्ख्याको लगभग ४० प्रतिशत युवा छन् । संविधानले तोकिदिएको ‘युवा’ उमेर घेरालाई आधार मान्ने हो भने यो सङ्ख्या सिङ्गो देशका लागि भरपुर ऊर्जा हो । तर हाम्रा यी युवा आज कहाँ छन् ? विमानस्थलमा हरक्षण देखिने भिडमा युवाका सपना पनि त्यसै त्यसै उडिरहेका छन् । हामी भन्छौँ, युवा देशको भविष्य हो तर युवा भविष्य मात्रै होइन बरु वर्तमानको दर्पण पनि हो । आजको युवा काँधले उचाल्न सके मात्रै देश बन्न सक्छ । नेपाली राजनीतिक इतिहासमा भएका हरेक परिवर्तनका लडाइँहरू युवा काँधले नै थामेका थिए । अग्रमोर्चामा शासकविरुद्ध ज्यानको बाजी थापेका उनै युवा जोसका कारण देशमा प्रजातन्त्र आयो । लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा त्यस्ता धेरै युवाको रगत र बलिदानले हाम्रो पुस्ता सिञ्चित भएको छ । २०५२ सालमा माओवादीले सुरु गरेको सशस्त्र युद्धमा सयौँ युवाले बलिदान दिए । त्योभन्दा अघि जाँदा २००७ सालको आन्दोलन होस् वा त्यसपछि पञ्चायतविरुद्ध ३० वर्ष लडाइँ वा २०५९ पछि राजा ज्ञानेन्द्र शासनविरुद्ध सडकमा ओर्लिएका युवा । यी सबका सपनाको मूल्य त हामीले चुकाउन सक्दैनौँ । कम्तीमा बलिदानी ती युवाका सपनाखातिर शासनसत्तामा बसिसकेपछि हामीले सोच्नुपर्ने थियो– त्यो बलिदानको बदला उनीहरूले के पाए ? अनि राष्ट्रले के पायो ? 

राजनीतिले परिणाम दिन नसकेकाले त्यही निराशाका कारण युवा देश छोड्न मात्रै बाध्य छैनन् बरु राजनीतिप्रति नै यति वितृष्णा भरिइसकेको छ कि आजको युवापुस्ता राजनीतिका कुरासमेत सुन्न चाहन्न । परिवर्तनको त्यो बेजोड युवापुस्तालाई हामीले सत्ता चुम्ने भ¥याङ मात्रै बनायौँ । उनीहरूको त्याग, बलिदान र सपनालाई हामीले त्यसपछि स्वाट्टै छोडिदियौँ । आज अनि भोलिका लागि तयार हुँदै गरेको पुस्तालाई राजनीतिमा आकर्षित गर्नका लागि कुनै पनि राजनीतिक दलसँग त्यस्तो कुनै नीति छैनन् । 

विश्वका कतिपय देशमा हे¥यौँ भने धेरै त्यस्ता राष्ट्र समृद्धिको आकाशमा उडिरहेका छन्, जहाँ युवापुस्ताले राष्ट्रको नेतृत्व गरिरहेको छ । नीति निर्माण तहमा युवा वर्गलाई सुनिश्चित गर्नका लागि नेपालमा पनि २०७२ सालमा राष्ट्रिय युवा परिषद् गठन भएको छ तर त्यो पनि कर्मकाण्डी मात्रै भयो । युवाका लागि चाहिने नीति निर्माणको तहमा यो पुस्ता होइन उही प्राचीन पुस्ता नै छ । त्यसले न युवाको भावना बुझ्छ न त त्यस अनुसार नीतिनिर्माण गर्छ । यसका लागि तर्जुमा गरिएका लक्ष्य र उद्देश्यले राज्यका हरेक क्षेत्रमा युवापुस्ताको नेतृत्वदायी र परिणाममुखी सहभागिता सुनिश्चित गर्नु नै हो । 

खास गरी राष्ट्रिय रूपमा तयार पारिएका युवा नीतिमा निम्न विषय उल्लेख छन्– 

देश निर्माण तथा राष्ट्रिय विकासमा युवा वर्गको भूमिका र सम्भाव्यताको विकास र विस्तार गर्ने, 

युवालाई राष्ट्र एवं राष्ट्रियता, नागरिक तथा शासन प्रणालीप्रति प्रतिबद्ध र समर्पित बनाउँदै उत्तरदायी तथा जवाफदेही बनाउने,

युवा वर्गमा सिर्जनशीलता, उद्यमशीलताको विकास गर्दै उनीहरूमा रहेको क्षमताको उजागर गर्ने, 

नैतिक, सुसंस्कृत, सिर्जनशील तथा व्यावसायिक रूपमा दक्ष युवा तयार पार्ने, 

राष्ट्रका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका सबै तहका नीति निर्माण, निर्णय एवं कार्यान्वयन प्रक्रियामा सहभागी गराउने, 

– लैङ्गिक संवेदनशीलतामा आधारित अर्थपूर्ण संलग्नताका माध्यमबाट नेतृत्व क्षमता विकास गरी युवालाई राष्ट्रिय विकासको संवाहक शक्तिका रूपमा स्थापित गर्ने, 

आफ्नो पहिचान स्थापित गर्ने संवेदनशील अवस्थामा रहेका युवाको शिक्षा, रोजगारी, वृत्ति विकासलगायतका वैयक्तिक एवं सामाजिक विकासमा सघाउने,

शिक्षा आर्जनका क्रममा रहेका समाजमा प्राथमिकता तथा विशेष प्राथमिकताको समूहमा रहेका युवालाई सकारात्मक विभेदका माध्यमबाट सशक्त गरी विकासको मूल प्रवाहमा ल्याउने । 

आज हाम्रा यी नीतिविपरीत युवाशक्ति विदेशतिर पलायन भइरहेका छन् । त्यसलाई रोक्नका लागि हामीले कुनै नीति कार्यान्वयन गरिरहेका छैनौँ । बरु सस्तो लोकप्रियताका लागि युवालाई बिदेसिन प्रेरित गरिरहेका छौँ । यसले देशमा केही पैसा भित्रिएला, केही परिवारको आर्थिक अवस्था अलिमाथि उठ्ला तर देशको समग्र भविष्य के 

हुन्छ ? हाम्रा खेतबारी बाझै छोडेर आज युवा धमाधाम देश छोडिरहेका छन् । गाउँमा मलामीसमेत पाइन छोडिसके । यस्तो दयनीय अवस्था कसरी आयो ? यसमा राजनीतिक दलहरूले गम्भीर भएर सोच्नुपर्ने भइसकेको छ । परिवर्तनका लागि युवाशक्तिको त्यो निर्भिक ज्वाला प्रयोग भयो आज त्यो परिवर्तन संस्थागत गर्नका लागि पनि युवाशक्तिको जरुरी छ । 

राज्यका हरेक नीति, निर्माण र निर्णायक भूमिकामा युवाको सहभागिता सुनिश्चित नभएसम्म हामीले हाम्रा परिवर्तन संस्थागत गर्न सक्दैनौँ । आफ्नो जवानीका सारा सपना लुटाएर परिवर्तनका लागि बलिदान दिने तमाम युवाका ती सपनासँग खेलबाड गरिरहने छुट अब नराखौँ । लोकतन्त्रको विकल्प अझ उन्नत र समृद्ध लोकतन्त्र नै हो । अनि त्यसको सबैभन्दा सुन्दरता भनेको युवा नै हो । जसले त्यो तन्नेरी काँधमा राष्ट्रको भविष्यको गह्रुँगो जिम्मेवारी पनि सजिलै बोक्न सक्छ ।  

Author

डा. शोभाकर पराजुली