• ३२ साउन २०८१, शुक्रबार

अफगानिस्तानमा १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध

blog

काबुल, साउन ३१ गते । अफगानिस्तानमा तालिबान सरकारले जानाजानी १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बिहीबार जनाएको छ । 

अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश हो । 

सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले आफ्नो शरिया वा इस्लामिक कानूनको उल्लङ्घन भएको भन्दै छैटौँ कक्षाभन्दा माथिका महिलाको शिक्षामा रोक लगाएको थियो । 

तालिवान सरकारले पुरुषको शिक्षामा रोक लगाएको छैन भने महिलाका लागि कक्षाकोठा र क्याम्पसहरू पुनः खोल्ने कुनै सङ्केत देखाएको छैन ।  

तालिबान सरकारले सत्ता कब्जा गरेदेखि कम्तिमा १४ लाख केटीहरूलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट वञ्चित गरेको युनेस्कोले बताएको छ । यो सङख्या सन् २०२३ को तथ्याङ्कभन्दा तीन लाखले बढी हो । 

“यदि हामीले प्रतिबन्ध लागू हुनुअघि नै शिक्षाको पहुँच नभएका महिलाहरूलाई जोड्ने हो भने अब देशमा लगभग २५ लाख महिला शिक्षाको अधिकारबाट वञ्चित छन् । यो तथ्याङ्कले ८० प्रतिशत विद्यालय जाने उमेरका युवतीहरूको प्रतिनिधित्व गर्दछ”, युनेस्कोले भनेको छ । 

तालिबान सरकारले यो टिप्पणीको कुनै जवाफ दिएको छैन ।

युनेस्कोका अधिकारीहरूले अफगानिस्तानमा शिक्षाको क्षेत्रमा दुई दशकको स्थिर प्रगति “लगभग समाप्त” भएको चेतावनी दिएका छन् । “सम्पूर्ण पुस्ताको भविष्य अहिले खतरामा छ”, अधिकारीहरूले भने ।  

तालिवानले महिला तथा बालिकामाथि लगाएको प्रतिबन्धले बाल श्रम र बाल विवाहमा वृद्धि भएको राष्ट्रसङ्घले जनाएको छ ।  

तालिबानले बुधबार बगराम एयर बेसमा आफ्नो शासनको तीन वर्ष मनायो । 

दशकौँको द्वन्द्व र अस्थिरताले लाखौँ अफगानीलाई भोकमरीको सङ्घारमा धकेलेको छ र देशमा बेरोजगारी दर उच्च छ । रासस,एपी