• ३२ साउन २०८१, शुक्रबार

अरिङ्गालले चिलेर मकवानपुरमा एकको मृत्यु

blog

राममणी दाहाल 

हेटौँडा, साउन ३१ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ छापडाँडामा अरिङ्गालले चिलेर एक युवकको मृत्यु भएको छ । स्थानीय ३२ वर्षीय सुमन गोलेको अरिङ्गालले चिलेर बिहीबार बिहान मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । 

प्रहरीका अनुसार घरदेखि १ किमी दक्षिणमा रहेको छिमेकीको बारीमा काम गर्ने क्रममा अरिङ्गालले बुधबार चिलेर घाइते भई आफन्तले उपचारको लागि काठमाडौँको फर्पिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा लगेकोमा बिहीबार बिहान चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए । 

यसैबिच धरान–चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-६ तामाखोलामा मोटरसाइकल र ट्याक्टर एक आपसमा  ठोक्किन गई दुर्घटना हुँदा एक भारतीय नागरिक गम्भीर घाइते भएका छन् ।

धरान–चतरा सडक खण्डमा गरगरेबाट हात्तीसुँडेतर्फ जाँदै गरेको ना ४२ प ९५६७ नं. मोटरसाइकल र भित्री बाटोबाट छतिवन राजमार्गतर्फ आउँदै गरेको प्र –०३–००१ त १७६८ नं. को ट्याक्टर एक आपसमा ठोक्किन गई दुर्घटना हुँदा मोटरसाइकल चालक भारत घर भई हाल बकैया गाउँपालिकामा ठेक्का पट्टाको काम गरी  बस्ने वर्ष ४५ को  लक्ष्मण राम घाइते भएको प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । प्रहरीका अनुसार बायाँ  हात तीन ठाउँमा र कुम एक ठाउँमा भाँच्चिएका निजको उपचारको लागि हेटौँडा सहकारी अस्पताल ल्याइएको छ ।