• १६ भदौ २०८१, आइतबार

९५ प्रतिशतभन्दा बढी बक्यौता विद्युत महसुल असुली

blog

नेपालगन्ज वितरण केन्द्र अन्तर्गतको खजुरा उप वितरण केन्द्र । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन ३० गते । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र अन्तर्गतको खजुरा उप वितरण केन्द्रले गत आर्थिक वर्षमा ९५ प्रतिशत भन्दा बढी बक्यौता विद्युत् महसुल असुली गरेको छ । 

खजुरा उप वितरण केन्द्रका प्रमुख हीरामणि घर्तिमगरले दिनुभएको जानकारी अनुसार गत आर्थिक वर्ष ०८०-०८१ मा खजुरा क्षेत्रका विद्युत् महसुल नबुझाउने ग्राहकहरुबाट एक करोड ५६ लाख अर्थात् ९५ प्रतिशतभन्दा बढी महसुल असुली गरिएको छ । खजुरा उप वितरण केन्द्र अन्तर्गतका विद्युत् महसुल नबुझाउने ६९० जना ग्राहकको लाइन काटिएकोमा ६५९ जना ग्राहकबाट एक करोड ५६ लाख आठ हजार ७६२ रुपियाँ असुली गरिएको प्रमुख घर्तिमगरले बताउनुभयो । 

उहाँले विद्युत् महसुल बाँकी रहेकामध्ये ९५.५० प्रतिशत महसुल असुली गर्न सफल भएको बताउनुभयो । सो असुली अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर भएको जनाइएको छ । 

अघिल्लो आर्थिक वर्ष ०७९-०८० मा विद्युत् महसुल बाँकी रहेका ३०३ जना ग्राहकको लाइन काटिएकोमा २४९ जना ग्राहकबाट ६९ लाख ६८ हजार रुपियाँ मात्र बक्यौता महसुल असुली गरिएको खजुरा उप वितरण केन्द्रले जनाएको छ । 

गत आर्थिक वर्षमा भने विद्युत् प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र र खजुरा उप वितरण केन्द्र लगायत कोहलपुर वितरण केन्द्रले पनि लामो समयदेखि महसुल बाँकी रहेका अधिकांश ग्राहकको लाइन काटेर बक्यौता असुली गर्ने अभियान नै सञ्चालन गरिएको थयो । सोही अभियानका कारण खजुरामा ९५ प्रतिशतभन्दा बढी बक्यौता असुल भएको खजुरा उप वितरण केन्द्रले जनाएको छ । 

खजुरा क्षेत्रको विद्युत् सेवालाई नियमित गर्ने, राम्रो भोल्टेज सप्ला  गर्ने कुनै ठुलै प्राविधिक समस्या नआएसम्म विद्युत् सुचारु राख्ने अभियान सञ्चालन गरेर आफूहरुले रातदिन काम गर्दै आएको खजुरा उप वितरण केन्द्रका प्रमुख घर्तिमगरले बताउनुभयो । उहाँले कुनै पनि ठाउँमा जुनसुकै बेला पनि कुनै खराबीको सूचना पाउनासाथ रातदिन नभनी प्राविधिक टोलीले सो स्थानमा पुगेर समस्या समाधान गरेर विद्युत् सुचारु गर्ने गरेको बताउनुभयो। 

खजुरा उप वितरण केन्द्र अन्तर्गत १७ हजारभन्दा विद्युतका ग्राहक रहेको सो केन्द्रले जनाएको छ ।