काठमाडौँ, साउन २९ गते। नमुना संयुक्त राष्ट्रसंघको तीनदिने नवौँ राष्ट्रिय गोष्ठी आउँदो साउन ३१ गते कपनमा आयोजना हुने भएको छ।
कूटनीतिक क्षमताको अभिवृद्धि गरी विज्ञान र प्रविधिले सुशोभित दक्ष नागरिक निर्माण गर्न गोष्ठी आयोजना गर्न लागिएको रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्रजंग थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार संयुक्त राष्ट्र सङ्घ, शान्ति तथा निःशस्त्रीकरणका लागि एसिया तथा प्रशान्त क्षेत्रीय केन्द्रका निर्देशक दीपायन वासु रोयले विद्यार्थीहरूलाई महत्त्वपूर्ण मन्तव्यसहित दिशानिर्देश गर्नुहुनेछ।
नमुना संयुक्त राष्ट्र सङ्घीय छ वटा समितिमा विभाजन गरी मानव जगत्का जल्दाबल्दा समस्यामा व्यापक छलफल गरेर आपसी समझदारी कायम गर्ने सुझावसहित काठमाडौँ घोषणापत्र जारी गर्ने गोष्ठी निर्देशक दिलीप नेपालले बताउनुभयो।
काठमाडौँ उपत्यकासहित रुपन्देही, चितवन, धनुषा र नवलपुरका २५ शैक्षिक संस्थाका दुई सयभन्दा बढी विद्यार्थीले भाग लिनेछन्।