• १६ भदौ २०८१, आइतबार

क्याप्टेन छान्न चुनाव

blog

साथीहरू, सांसद छान्ने चुनाव देख्नुभएको छ ? चुनावका लागि मतपत्र तयार गरिन्छ । मतदातासँग मत माग्नका लागि चुनाव प्रचार गरिन्छ । तोकिएको दिनमा मतदाता मतदान स्थलमा पुग्छन् । सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको हुन्छ । कर्मचारी पनि हुन्छन् । मतदाताले जसलाई जिताउन चाहन्छन् उनको चुनाव चिह्नमा स्वस्तिक चिह्न भएको छाप लगाउँछन् । त्यसपछि बडेमानको बाकसको प्वालबाट मतपत्रलाई खसालिन्छ । अन्तिममा मत गनिन्छ र सबैभन्दा बढी मत ल्याउनेले चुनाव जित्छन् । ठिक त्यसै गरी कास्की पोखरा–१६, बाटुलेचौरको विन्ध्यवासिनी माध्यमिक विद्यालयले क्याप्टेन र सहायक क्याप्टेन छान्न चुनाव नै गराएको छ । 

कक्षा ४ देखि १० सम्मका विद्यार्थीले निर्वाचन प्रणालीका बारेमा बुझ्न सकून् भनेर यस्तो विधिबाट क्याप्टेन र सहायक क्याप्टेन छनोट गरिएको थियो । सो विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले निर्वाचनबाट कक्षा ९ का विद्यार्थी गणेश शर्मा क्याप्टेन र कक्षा १० की अनुष्का गुरुङ सहायक क्याप्टेन पदमा विजयी भएको बताउनुभयो । 

विसं २०८१ जेठ ११ गते विद्यालयले प्रदेश निर्वाचन कार्यालयबाट चुनावका लागि आवश्यक पर्ने सबै सामग्री ल्याएको थियो । चुनावमा कक्षा १० का विद्यार्थीलाई कर्मचारी र सुरक्षाकर्मीका रूपमा खटाइएको थियो । उम्मेदवार बनेका आठ जना विद्यार्थीले आफूले जित्नका लागि खुब चुनाव प्रचार पनि गरे । अन्तिममा विद्यार्थीलाई लाम लगाएर मतदान गर्न लगाइयो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र भन्ने कार्यालयले २०७९ सालमा देशभरिका विद्यालयले गरेको कामका आधारमा बाटुलेचौरको विन्ध्यवासिनी माविलाई पहिलो घोषित गरेको थियो । शिक्षा विकास तथा समन्वय एकाइ भन्ने कार्यालयले २०८० सालको राष्ट्रिय शिक्षा दिवसमा कास्कीभरिबाट यो विद्यालयलाई सर्वोत्कृष्ट घोषणा गरी पुरस्कार प्रदान गरेको थियो । 

विद्यालयको पढाइ मात्र होइन फूलबारी, खेलमैदान, भवन आदि सबै कुरा राम्रो छ । यो विद्यालय २००४ सालमा स्थापना भएको हो । सुरुमा बहादुर श्रेष्ठ नाम गरेका एक जनाको घरमा विद्यालय सञ्चालन गरिएको थियो । २००९ सालमा हाल भएको स्थानमा विद्यालयलाई सारिएको थियो । यस विद्यालयबाट २०२१ सालदेखि एसएलसी परीक्षामा परीक्षार्थी सम्मिलित हुन थालेका हुन् । कक्षा १० को वार्षिक परीक्षालाई हाल एसइई भनिन्छ । २०७३ सालअघि एसएलसी परीक्षा भनिन्थ्यो । 

यस विद्यालयमा पूर्वप्राथमिक तह (इससिडी) देखि कक्षा १२ सम्म करिब एक हजार चार सय विद्यार्थी अध्ययनरत छन् । चण्डिका टोलमा रहेको चण्डिका आधारभूत विद्यालयलाई पनि यसै वर्षबाट विन्ध्यवासिनी माविमा गाभिएको छ । यो विद्यालयको कम्प्युटर ल्याबमा ४२ वटा कम्प्युटर राखिएका छन् । हरेक कक्षाका हरेक सेक्सनमा ४२ जना विद्यार्थीलाई राखेर पढाइन्छ । कम्प्युटर ल्याबमा रहेका कम्प्युटरमा नम्बर उल्लेख गरिएको छ । कम्प्युटर पढाइ हुँदा विद्यार्थीले आफ्नो रोल नम्बर भएको कम्प्युटर प्रयोग गर्नुपर्ने नियम बनाइएको छ ।

विद्यालयमा प्रवेश गर्दा एउटा बोर्ड पनि देखिन्छ । यो बोर्डमा आज को शिक्षक विद्यालयमा उपस्थित हुनुभएन र खाली हुने कक्षाकोठामा कुन शिक्षकलाई खटाइन्छ भनेर लेखिएको हुन्छ । त्यो बोर्डमा कुन कक्षामा कति जना विद्यार्थी आज अनुपस्थित रहे भन्ने पनि लेखिएको हुन्छ ।

बाटुलेचौर, लामाचौर र अर्मलामा आठ वटा पढाइ समूह गठन गरिएको छ । समूहमा अभिभावक, विद्यार्थी र शिक्षकलाई राखिएको हुन्छ । उनीहरूले विद्यालयको पढाइ सुधार गर्न टोलमा छलफल गर्ने गर्छन् । त्यसका साथै विद्यार्थीले वातावरण, पठन, विज्ञान, सङ्गीत, बाललगायतका क्लब पनि स्थापना गरेका छन् । यो विद्यालयबाट पढाइ पूरा गरेर उच्च शिक्षा प्राप्त गरेका विद्यार्थीलाई प्रयोग गरी हाल अध्ययनरत विद्यार्थीलाई वेबडिजाइन र ग्राफिक्सका बारेमा तालिम पनि दिने गरिएको छ ।

कक्षा ३ सम्मका बालबालिकालाई विभिन्न प्रतियोगितामा सहभागी गराउने चलन रहेको पाइँदैन तर यो विद्यालयले हरेक वर्ष वरिपरिका १४ वटा विद्यालयका कक्षा ३ सम्मका विद्यार्थीबिच हाजिरी जवाफ प्रतियोगिता गराउने गरेको छ । विद्यालय राम्रो भएकाले अवलोकनका लागि देशविदेशबाट मानिसहरू त्यहाँ जाने गरेका पनि छन् । 

प्रकृति अधिकारी   

साउन मुना २०८१