• २ माघ २०८१, बुधबार

तनहुँमा तीव्र रुपमा फैलियो डेंगु सङ्क्रमण

blog

जिपी काइराला श्वासप्रश्वास उपचार केन्द्रको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, साउन २५ गते ।
तनहुँमा डेंगुको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । एक महिनाको अवधिमा जिल्लामा सात सयभन्दा बढी डेंगुको सङ्क्रमणबाट बिरामी भएका छन् भने एकको मृत्यु भएको छ ।

यस आर्थिक वर्षमा सात  सय ६२ जनामा डेंगुको सङ्क्रमण भएको र एक जना बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

हालै व्यास नगरपालिका–७ का ५० वर्षीय पुरुषको डेंगुको सङ्क्रमणबाट मृत्यु भएको अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार आँबुमा पाँच सय ५४ जनामा सङ्क्रमण भएको छ ।

शुक्लागण्डकी नगरपालिकामा एक सय पाँच जनामा, व्यास नगरपालिकामा ५७ जना, बन्दीपुर गाउँपालिकामा ३६ जना र भिमाद नगरपालिकामा दुई जनामा सङ्क्रमण भएको छ । अधिकारीका अनुसार जिल्लाभरिका सङ्क्रमित सात सय ५४  मध्ये पाँच सय ५४ जना सङ्क्रमित आँबुखैरेनी पालिकाभित्रका हुन् । भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका र घिरिङ गाउँपालिकामा  डेंगु सङ्क्रमितको सङ्ख्या शून्य छ ।

यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको अधिकारी बताउनुहुन्छ । समयमा उपचार नभए डेंगुबाट बिरामीको मृत्युसमेत हुन सक्ने भएकाले सर्तकता अपनाउनुपर्ने अधिकारीले बताउनुभयो । आँबुखैरेनी गाउँपालिका डेङ्गीबाट बढी प्रभावित भएको अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार डेंगु सङ्क्रमण न्यूनीकरणका लागि कार्यालयले विभिन्न समयमा सचेतनामूलक कार्यक्रमसँगै ‘खोज र नष्ट’ अभियान लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा छुट्टै वार्ड
यसैबिच व्यापकरुपमा यहाँ डेंगु रोगको प्रकोपको फैलिँदै गएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी काइराला श्वासप्रश्वास उपचार केन्द्रमा छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याइएको छ ।

केन्द्रको कोभिड अस्पताल भवनमा हाललाई १० बेडको छुट्टै डेंगु वार्डको व्यवस्था गरी सूचारु गरिएको केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । साउन महिनामा मात्रै ९६ जना डेंगुका बिरामी आइसकेको र आउने क्रम बढी रहेकोले छुट्टै वार्डको स्थापना गरिएको डा.श्रेष्ठले बताउनुभयो ।

इमर्जेन्सीमा आउने डेंगुका बिरामीको चापमा अत्यधिक वृद्धि हुँदा कुनै पनि बिरामी उपचार सेवाबाट वञ्चित नभई सहजरुपमा उपचार सेवा पाउन तथा अन्य रोगका बिरामीहरूको उपचार सेवामा समेत असर नपरोस् भन्ने उद्देश्यले हालै वार्ड सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिनुभयो । डा.श्रेष्ठले भन्नुभयो, ‘‘डेंगुका बिरामी आउने क्रम बढेको छ हाल २४ जना भर्ना भएर बसेका छन् उपचारका लागि सहज होस् भनेर छुट्टै वाड सञ्चालन गरेका छौं ।’’