• २८ भदौ २०८१, शुक्रबार

बाटो खुल्ने पर्खाइमा किसान

blog

फाइल तस्बिर ।

शेरबहादुर सार्की  

बाजुरा, साउन २५ गते । बाजुराको पूर्वी उत्तर क्षेत्रका स्याउ किसान बाटो खुल्ने पर्खाइमा छन् । जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक, जगनाथ र बुढीनन्दा लगायतका स्याउ किसान साउनको अन्तिमदेखि भदौमा जिल्ला तथा बाहिर स्याउ बिक्रीका लागि जाने गर्दछन् ।

लामो समयदेखि अवरुद्ध बनेको मार्तडी कोल्टी सडकका कारण यहाँको स्याउ बिक्रीका लागि बजार पुग्न समस्या भएको किसान धन रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “ गत वर्षभन्दा यो वर्ष बारीमा स्याउ राम्रो फलेको छ । यसलाई समयमै बजारसम्म लान सके राम्रो बिक्री हुन्थ्यो । 

पहिले स्याउ कहिले पाक्लान भनेर स्याउको बोटमा हेर्ने गरेको थिएँ । अहिले त्यो बोटमा स्याउ पाकेर रातो भएपछि बाटो कहिले खुल्ला भन्ने पर्खाइमा छौँ, स्याउ किसान रावलले भन्नुभयो, उसो त स्याउ स्टोर गरेँ भने केही समयपछि पनि बिक्री गर्न सकिन्थ्यो । तर बाजुरामा त्यो व्यवस्था भने छैन । 

स्याउ पछिसम्म राख्नका लागि राम्रो शीतभण्डारको आवश्यकता पर्छ । यहाँ शीतभण्डार छैन । गत वर्षमा निर्माण हुन थालेका शीतभण्डार अहिलेसम्म सञ्चालमा आएका छैन । शीत भण्डार नहुँदा यहाँका स्याउ किसानलाई स्याउ स्टोर गर्न समस्या भएको हो ।

अविरल वर्षातका कारण बडिमालिका नगरपालिकाको ७ जिल्ली सडकमा फेरि गएको पहिरोका कारण मार्तडी कोल्टी सडक अवरुद्ध भएको भौतिक पूर्वाधार विकास अछामका प्रमुख रुद्धबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक पुन सुचारु गर्नका लागि यती बेला यहाँका स्थानीय सरकार तथा जिल्ला विपत् व्यवस्थापन समितिसँग समन्वय गरिरहेका छौँ । ”

स्याउ किसानको त्यो समस्यालाई विचार गर्दै अबका केही दिनपछि घाम लागेभने मार्तडीदेखि कोल्टी सडक पुनः सञ्चालन गर्ने गरी सडक मर्मतको काम सुरु गर्ने प्रमुख बोगटीले बताउनुभयो ।