• १० मंसिर २०८१, सोमबार

बालबालिकामा कुपोषणको समस्या बढ्दो

blog

डुडुवामा बच्चाको कुपोषण जाँच पछि खोप लगाउँदै स्वास्थ्यकर्मी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन २४ गते । पश्चिम नेपालको सबैभन्दा सुगम मानिने जिल्ला बाँकेका बालबालिकामा नै कुपोषणको समस्या बढ्दै गएको छ । बर्सेनि कुपोषणबाट बालबालिकालाई जोगाउन ठुलो धनराशि खर्च गरिए पनि कुपोषण दर भने घट्न सकेको छैन ।

स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०८०/०८१ मा जिल्लाका एक हजार ३१० बालबालिकामा कुपोषण देखिएको छ । अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा पनि यहाँ एक हजार ४१९ जना बच्चामा कुपोषण देखिएको थियो । त्यसको अघिल्लो आर्थिक वर्ष ०७८÷०७९ मा पनि बाँकेमा एक हजार ५६ जना २ वर्षमुनिका बालबालिका कुपोषित भेटिएका थिए । 

स्वास्थ्य कार्यालयको यो तथ्याङ्कले नै कुपोषित हुने क्रम लगातार तीन आर्थिक वर्षमा घट्न नसकेको देखिएको छ । जिल्लाका आठ वटै पालिकाहरूले विभिन्न कार्यक्रम गर्दै आएपनि कुपोषित हुने बालबालिकाको सङ्ख्या कम नहुँदा चिन्ता प्रकट गरिएको छ । सङ्घीय संरचनापछि स्थानीय तहले नै कुपोषण घटाउन कार्यक्रम गरिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्यायले बताउनुभयो । उहाँले अझै पनि कुपोषित बालबालिकाहरू भेटिने क्रम निरन्तर जारी रहेको जनाउँदै पोषण सुधारको उपलब्धि शून्य प्रायः रहेको बताउनुभयो। 

जनस्वास्थ्य निरीक्षक उपाध्यायका अनुसार ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित भेटिने गरेका छन् । पोषिलो खानेकुराको अभावमा उनीहरू कुपोषणको चपेटामा पर्ने गरेका छन्। 

उहाँले थप्नुभयो, ‘समयमै पोषिलो खाना नपाएकै कारण ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित छन् । स्थानीयस्तरमा चेतनाको कमी र गरिबीले जानकी गाउँपालिका,नरैनापुर गाउँपालिका सहित नेपालगन्ज उपमहानगरपालिका लगायत अधिकांश क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढी छ ।’ 

स्वास्थ्य कार्यालय बाँकेका अनुसार गत वर्ष जानकी गाउँपालिकामा ३९९, नरैनापुरमा २७९, नेपालगन्जमा १४१, राप्ती सोनारीमा ११५, बैजनाथमा १०४, खजुरामा १०२, डुडुवामा १०१ र कोहलपुरमा ५१ जना बालबालिकामा कुपोषण पुष्टि भएको छ । 

गर्भवती हुने बेलादेखि नै स्वास्थ्य संस्थामा पहुँच नपुग्नु र पोषिलो खाना समेत नपाउनुले कुपोषणको समस्या भएको डुडुवा गाउँपालिकामा कार्यरत सिनियर अनमी सीमा घर्तिमगर खानले बताउनुभयो । उहाँले पोषणबारे विशेष गरी मधेशी र मुस्लिम समुदायका महिलाहरूमा चेतनाको कमीका कारण उनीहरूको बानी व्यवहारमा सुधार आउन नसकेकोले यो समस्या बढ्दै गएको बताउनुभयो । 

घरमै उपलब्ध हुने पोषिलो खाना नखाने गर्दा पनि बच्चाको शारीरिक वृद्धि विकास हुन नसकेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा विपन्नलाई खान नपुग्ने र खान पुगे पनि खाना खाने बानीमा सुधार नआएकोले बालबालिका कुपोषित हुने क्रम नरोकिएको डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक हेमन्त शर्माले बताउनुभयो । उहाँले डुडुवामा बालबालिकालाई कुपोषणबाट बचाउनका लागि विशेष कार्यक्रम सञ्चालन गरिएको जनाउँदै यसले कुपोषण घटाउने विश्वास गरिएको बताउनुभयो ।