• २ माघ २०८१, बुधबार

प्रदेश प्रमुखद्वारा कर सङ्कलन सम्बन्धी अध्यादेश प्रमाणीकरण

blog

प्रदेश प्रमुखको कार्यालय।

अविनाश चौधरी

धनगढी, साउन २४ गते। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले ‘प्रदेश सामूहिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१’ लाई प्रमाणीकरण गर्नुभएको छ। 

सरकारले बिहीबार मन्त्रिपरिषद् बैठकबाट पारित गरेर सो अध्यादेश प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। प्रदेश प्रमुख मियाँले अध्यादेश प्रमाणीकरण गरिसकेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिनुभयो। मन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि यो अध्यादेशलाई ऐन सरह कार्यान्वयन गर्न सकिने जनाइएको छ। 

प्रदेश सरकारले राजस्व सङ्कलनका लागि यो अध्यादेश जारी गरेको हो। अध्यादेश प्रमाणीकरण र राजपत्रमा प्रकाशित गरिएसँगै झन्डै तीन हप्तादेखि रोकिएको कर सङ्कलनको कार्य सुचारु भएको छ। 

दीर्घबहादुर सोडारी नेतृत्वको तत्कालीन सरकारले बजेट र यससँग सम्बन्धित विधेयक पारित गराउन नसकेपछि साउन १ गतेबाट राजस्व सङ्कलनको कार्य ठप्प भएको थियो। यसैगरी, खर्च पनि रोकिएको छ।