काठमाडौँ, साउन २४ गते । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपविजेता नेपाली महिला भलिबल टोलीलाई काठमाडौँ महानगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ ।
महानगरले बिहीबार आयोजित कार्यक्रमबिच टोलीका १४ खेलाडी र मुख्य प्रशिक्षकलाई जनही एक लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको हो । यस्तै टोलीका सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलम बज्राचार्य र फिँजियो लोकेन्द्र कुँवरलाई समान ५० हजार रुपियाँ प्रदान गरियो ।
महिला टोलीलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’, उपप्रमुख सुनिता डङ्गोललगायतले सम्मान गर्नुभयो । सम्मान कार्यक्रममा प्रमुख शाहले महिला भलिबल टोलीले सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराएको बताउनुभयो ।
‘‘हामीलाई छुटेको काम गर्न गर्न सम्झाएको छ । फाइनलमा तपाईँहरूले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । खेलमा कुनै कमजोरी थिएन । यस खेलले सबै नेपालीलाई एकै ठाउँमा उभ्याएको थियो । यसकारण, तपाईँहरूको प्रदर्शनले भलिबल साँच्चै राष्ट्रिय खेल भएको प्रमाणित भएको छ ।’’
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ कभर्ड हलमा बुधबार भएको फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा भारतले नेपालमाथि २३–२५, २५–१४, २२–२५, २५–२१, १५–५ को जित निकालेको थियो । घरेलु कोर्टमा उपाधि चुम्ने नेपालको सपनामा भारत बाधक बनेको हो । नेपाल अन्तिम सेटमा स्तब्ध बनेको थियो ।