• १२ मंसिर २०८१, बुधबार

रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा

blog

भक्तपुर, साउन २४ गते । पार्टीको वैचारिक, राजनीतिक र साङ्गठनिक पक्षको छलफललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश तहमा पनि विस्तार गरेको छ । गत साता केन्द्रीय तहका नेताहरुका लागि आयोजित बन्द कार्यशाला (क्लोज क्याम्प)को समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि ‘क्लोज क्याम्प’ गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार रास्वपाको बागमती प्रदेश समितिले बिहीबार र शुक्रबार भक्तपुरमा ‘क्लोज क्याम्प’ राखेको छ । क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवम् प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्यसहित दुईसय ५० जना सहभागी भएका छन् ।

‘क्लोज क्याम्प’मा केन्द्रमा जस्तै विचार, सङ्गठन, अभियान, मूल्य–मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लब÷लिडरसिप एकेडेमी गरी ६ वटा विषयमा समूहगत छलफल भइरहेको छ । शुक्रबार आउने समूहगत छलफलको निष्कर्षलाई एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने रास्वपा बागमती प्रदेश समितिका सभापति डा. अच्युतम लामिछानेले जानकारी दिनुभयो ।

बागमती प्रदेशस्तरीय ‘क्लोज क्याम्प’को सहजीकरण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्यहरु शिशिर खनाल, सोविता गौतम, पुकार बम र केन्द्रीय विभागका कृष्णमान श्रेष्ठलगायतले गरिरहनुभएको छ । रास्वपाले प्रत्येक प्रदेशको क्लोज क्याम्पको सहजीकरणका लागि केन्द्रीय नेताहरु खटाएको छ ।

‘‘हालसम्मको गहन समीक्षासहित पार्टीलाई वैचारिक, राजनीतिक र साङ्गठनिक रुपमा सुदृढ गर्न अभियानकै रुपमा ‘क्लोज क्याम्प’ गरेका हौं’’ कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले भन्नुभयो, ‘‘केन्द्रले विधान संशोधनमा सुझाव मागेको छ, त्यसबारे पनि छलफल हुन्छ ।’’  अन्य प्रदेशमा भने भोलि र पर्सि ‘क्लोज क्याम्प’ हुँदैछ ।