• १२ मंसिर २०८१, बुधबार

हवाई क्षेत्रको सुधारका लागि विज्ञ सम्मिलित छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन

blog

बिहीबार सिंहदरबारमा बसेको सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक।

काठमाडौँ, साउन २४ गते । संसदीय समितिले नेपालको हवाई उडानको क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सिफारिस गर्न विज्ञहरुको संलग्नता एक स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको एयर डाइनेष्टी हेलिकोप्टर दुर्घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बोलाइएको सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकले सरकारलाई सो निर्देशन दिएको हो ।

पछिल्लो समयमा निरन्तर भइरहेको हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे नै छानविन समितिहरु बन्ने गरेका भए पनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन् कमजोर बन्दै गइरहेको देखिएकाले सो सम्बन्धमा नेपालको हवाई सुरक्षा, सुरक्षामापनको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयनसम्बन्धी कानुन एवम् अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भए/नभएको सम्बन्धमा १५ दिनभित्र छानविन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरुको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानविन समिति एवम् कार्यदलमार्फत पेश भएका अध्ययन, अनुसन्धानमूलक प्रतिवेदनहरु के, कुन अवस्थामा छन् ? सो को जानकारीसहितको विवरण समितिलाई यथाशिघ्र उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएको छ ।

नेपालको हवाई उड्डयनको सुरक्षासम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न, नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र सङ्घीय संसदमा पेश गर्न, गराउन पनि सरकारलाई निर्देश गरिएको समितिले जनाएको छ ।

सभापति यादवले भन्नुभयो, ‘‘नेपाल हवाई नीति २०६३ सालदेखि कार्यान्वयनमा आए पनि नेपालको हवाई उड्डयनको सुरक्षासम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न निर्देशन दिने । नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशिघ्र सङ्घीय संसदमा पेश गर्न, गराउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने ।’’

समितिका सभापति यादवले हवाई उड्डयनको क्षेत्रमा कुनै स्वार्थ समूह भए उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।